मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त


 


काठमाडौं, जेठ ३२ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भर्खरै समपन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

सरकारले मुख्यसचिव शंकरदास वैरागीको कार्यकाल नसकिँदै अर्को मुख्यसचिव नियुक्ति गरेको हो। मुख्यसचिव वैरागीको कार्यकाल आगामी असोज दोस्रो सातासम्म छ भने डाक्टर अर्याल यही असार ३ गते अवकाशमा जाँदै थिए। अवकाश पाउनु अघि नै उनी मुख्यसचिवमा नियुक्त भएका हुन् ।

अर्यालले यसअघि सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए। सहसचिव रहँदा लामो समय अर्थ मन्त्रालय बजेट महाशाखामा काम गरेका थिए।

अहिले मुख्यसचिव रहेका वैरागीलाई राजीनामा गर्न लगाएर मन्त्री सरहको सेवा सुविधा दिएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्ति गरिँदैछ । मन्त्रीपरिषद्को बैठक बस्नुअघि सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का, रक्षासचिव किरणराज शर्मा, प्रधान सेनापति प्रभुराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्