नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्ण भद्र बन्दीगृहमा


 


काठमाडौं, असार २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गर्न पुर्पक्षका लागि कारागार पठाइएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई दुईवटा ब्लकमा विभाजन गरिएको छ ।

सुन्धारास्थित केन्द्रीय कारागार दुई वटा ब्लकमा उनीहरुलाई विभाजन गरेर राखिएको हो । कारागारका जेलर ललितकुमार बस्नेतका अनुुसार एमालेका निलम्बित सचिव एवं सांसद एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री एवं एमालेका केन्द्रीय सदस्य बालकृष्ण खाँडालाई एउटै ब्लक भद्र बन्दीगृहमा राखिएको छ ।

टोपबहादुरका छोरा सन्दीप, खाँडाका सहयोगी नरेन्द्र केसी, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, कांग्रेसका पूर्वसभासद् आङटावा शेर्पा र बिचौलीद्वय रामशरण केसी र गोविन्द चौधरीलाई पनि भद्र बन्दीगृहमा राखिएको छ । टोपबहादुरले छोरालाई पनि आफैसंग राखिदिन माग गरेपछि सन्दीपलाई त्यहीँ राखिएको जेलर बस्नेतले बताए ।

पूर्वगृहसचिव एवं हालका निलम्बित उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, हरिभक्त महर्जन र सागर थुलुङ राईलाई केन्द्रीय कारागारको अर्को ब्लकमा राखिएको छ ।

केन्द्रीय कारागारमा केन्द्र, भद्र बन्दीगृह र महिला कारागार गरि तीनवटा ब्लक छन् । जम्मा एक हजार पाँच सय क्षमता भएको केन्द्रीय कारागारभित्र करिब तीन हजार चार सय कैदी–बन्दी छन् ।

भुटानी शरणार्थी प्रकरणमा ३० जनामध्ये १८ लाई पक्राउ गरी छानबिन अगाडि बढेकामा १६ जनालाई पूर्पक्षका लागि जेल पठाउँदा दुई जना भने धरौटीमा रिहा भएका छन् । लक्ष्मी महर्जन र टंक गुरुङ धरौटीमा रिहा भएका हुन् । १२ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्