बझाङ जीप दुर्घटना : घाइते खतरामुक्त, शल्यक्रिया गर्न ढिलाई


 


काठमाडौं, असार ६ । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा घाइते भएका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त भएका छन् ।

बाँकेस्थित कोहोलपुर मेडिकल कलेज उपचाररत उनीहरु खतरामुक्त भएको अस्प्तालका अर्थोपेडिक रेसिडेन्ट डा. ब्राईन पोखरेलले बताए।

उनका अनुसार घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको छ। उनीहरु होसमा भएको र बोल्न सक्ने अवस्थामा भएको अस्पतालले जनाएको छ।

उपचारका क्रममा एमआरआई र सिटिस्क्यान गरि परीक्षण गर्दा दुबै जनाको पछाडीको भागको मेरुदण्डमा समस्या देखिएको पोखरेलले जानकारी दिए।

जोशीको मेरुदण्डको दुई ठाउँमा भाँचिएको छ भने भण्डारीको घाँटीको पछाडीको भागमा रहेको एक ठाउँको हड्डी दबिएको छ। उनीहरु दुवै जनाको चाँडो शल्यक्रिया गर्नुपर्ने भए पनि परिवारका कुनै पनि सदस्य अस्पतालमा नआइपुगेकाले शल्यक्रिया हुन नसकेको पोखरेलले बताए।

जोशी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको जीप चालक हुन् भने भण्डारी अङ्गरक्षक हुन्।

उक्त गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका मन्त्री सिंहको सोही मेडिकल कलेजमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो। दुर्घटनामा मन्त्री पत्नी अमृता र भाउजु पर्ने जयादेवीको पनि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा हिजै बाटोमै मृत्यु भएको थियो।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्