मधेश पुगेर रेशम चौधरीले खोले पार्टी खोल्नुको रहस्य, मधेशमा सरकार बनाउने दाबी


 


काठमाडौं, साउन १४ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् नेता रेशमलाल चौधरीले मधेश प्रदेशमा पुगेर आफूले नागरिक उन्मुक्ति पार्टी खोल्नुका कारण खोलेका छन् ।

आइतवार जनकपुरधाममा आयोजित नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले जेलबाटै पार्टी खोल्नुको रहस्य खोलेका हुन् ।

उनले मधेशवादी दलहरुले आफूलाई धोखाधडी गरेको हुँदा नागरिक उन्मुक्ति पार्टी खोल्न बाध्य भएको बताए । आफू साढे ८ वर्षसम्म जेलमा बस्दा मधेशवादी दलले आफूलाई स्वीकार गर्न नमानेपनि चुनावमा आफ्नो नाम भजाउने काम मात्र गरेको आरोप लगाए ।

आफूलाई जेलबाट रिहा गर्ने विषयमा उनीहरुले भाषण मात्र गरेको र व्यवहारमा कुनै पनि काम गर्न नसकेको उनको भनाइ छ ।

मधेशी दलका नेताहरुको चरित्र बुझेपछि आफूले जेल बसाईकै क्रममा नागरिक उन्मुक्ति पार्टी गठन गरेको बताए । चौधरीले थरुहट प्रदेशमा १६ सांसद जित्न सफल भएको भन्दै खुसी व्यक्त गरे ।

अगामी निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक मतले जितेर मधेश प्रदेश सरकारको नेतृत्व गर्ने समेत उनले दाबी गरे । नेपाल सद्भावना पार्टी मात्र होइन, दुई–चारवटा मधेशवादी दलहरु अझै सम्पर्कमा रहेको भन्दै उनीहरुसँग पनि एकीकरण गरी आउँदो निर्वाचनमा मधेशमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो सरकार बनाउने बताए ।

प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्