सेवाग्राहीसंग घुस लिने लेखा अधिकृतविरुद्ध मुद्दा दायर


 


काठमाडौं, साउन १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसंग घुस लिने लेखा अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध मुद्दा दायर गरेको हो ।

उनले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रिसवत माग गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले लेखा अधिकृत ढकाललाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस रिसवत लिइसकेको अवस्थामा गएको असार २२ गते नियन्त्रणमा लिएको थियो ।

उनलाई दुई लाख रुपैयाँ बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । उनलाई कैद सजाय हुन माग समेत गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्