शीर्ष नेताबीच सहमति जुटेन, प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित


 


काठमाडौं, साउन २२ । प्रतिनिधिसभाको बैठक भोलि (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

संसदको अवरोध खोल्ने विषयमा तीन दलका शीर्ष नेताबीच सहमति जुट्न नसक्दा आज (सोमबार) प्रतिनिधिसभाको बैठक बस्न नसकेर स्थगित भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद अवरोध खोल्ने विषयमा सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो ।

संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।

आज सुरुमा दिउँसो १ बजेलाई बैठक बोलाइएको थियो । बैठकअघि नै संसद अवरोध खोल्ने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको बैठक राखेका थिए ।

तर सहमति नभएपछि संसद बैठक पनि सूचना टाँसेर ४ बजेका लागि सारिएको थियो । अपरान्ह ४ बजे बसेको शीर्ष नेताको बैठकले पनि संसदको अवरोध खोल्ने सहमति गर्न नसकेपछि संसद बैठक मंगलबारसम्मलाई सारिएको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले २ साउनमा सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो ।

तर नेकपा एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेको छ । यही मागलाई अघि सार्दै एमालेले यही माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्