अबिरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र जलमग्न


 


काठमाडौं, साउन २३ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र जलमग्न भएका छन् ।

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगर लगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।

डुबान भएका क्षेत्रमा प्रहरी टोली बिहानैदेखि खटिएको र सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ भइरहेको उनले बताए ।

यसैगरी भारी वर्षाका कारणसडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ ।

विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाढीकै कारण काठमाडौँको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्