प्रचण्डका ‘घरबेटी’ले ठेक्का लिएको नगरकोट सडक निर्माण सम्पन्न नहुँदै भत्कियो


 


भक्तपुर, साउन २३ । प्रधानमन्त्री एवम्‌ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी मालिक शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ् कन्स्ट्रक्सनले ठेक्का लिएको भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ ।

सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय बासिन्दा र सरोकारवालाहरूबीच समन्वय र सहकार्य हुन नसक्दा सडक ठाउँठाउँमा भत्किन थालेको हो ।

सडक निर्माण सम्पन्न भएका केही स्थानमा निर्माण व्यवसायी, आयोजना, स्थानीय उद्योग, जग्गा प्लटिङ व्यवसायी र स्थानीयवासीले लापरबाही गर्दा उक्त सडक निर्माण सम्पन्न नहुँदै विभिन्न स्थानमा भूक्षय भई सडक भत्किन थालेको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सर्वदलीय राजनीतिक संयन्त्र, सडक निर्माण आयोजना, निर्माण व्यवसायीका प्रतिनिधि र सञ्चारकर्मीहरूको संयुक्त टोलीले गरेको सडक अनुगमनका क्रममा नेपाली सेनाको खरीपाटी ब्यारेक नजिकको घुमाउने, चाँगुनारायण नगरपालिका–६ बास्तोला गाउँ युटर्न रेष्टुरेन्ट नजिक, बाघमारा, नगरकोट बसपार्क नजिकलगायत स्थानमा सडक भत्किन र भासिन थालेको भेटिएको हो ।

खरिपाटी सेनाको ब्यारेक नजिक शिवशिखर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको वेभरेज र खाद्य उद्योगबाट निस्किएको पानी लापरबाहीपूर्वक सडकमा छोड्दा उक्त स्थानमा भूक्षयले सडक भासिन थालेको छ ।

उक्त उद्योगबाट निस्किएको पानीलाई ड्रेन बनाई कटाउने प्रयास गर्दा नेपाली सेनाले आफ्नो जग्गामा सडकको पानीको निकास लिन नसक्ने भन्दै रोक लगाएपछि उक्त स्थानमा भूक्षय हुन थालेको भक्तपुर–नगरकोट–सिपाघाटरबालाजु–त्रिशूली सडक योजनाका सब–इन्जिनियर सुनिता धुकुछुले बताए ।

यसैगरी नगरकोट बास्तोला गाउँ युटर्न रेष्टुरेन्ट नजिक नगरकोट सडकको माथिल्लो भिरालो डाँडामा जग्गा प्लटिङ गरेको र सो प्लटिङबाट खस्न थालेको पहिरोले नगरकोट सडकलाई क्षति गर्न थालेको छ । वर्षा हुने बित्तिकै प्लटिङबाट भेल बगेर आउने र सो भेलले लेदोसहितको माटो बगेर सडक अवरुद्ध पार्ने गरेको छ ।

सडकको माथिबाट बगेर आउने लेदोले बाटोको मुनिको भागमा भूक्षय हुन थालेको छ । प्लटिङबाट बगेर आउने माटोले सडक दुर्घटनाको समेत जोखिम बढेको छ ।

यसैगरी अनुगमनकर्ताहरूले सडकको गुणस्तरमा समेत आशङ्का व्यक्त गरेका छन् । सडक निर्माण भई कालोपत्र भएका धेरै स्थानमा कालोपत्र उप्किएर खाल्डाखुल्डी परेको देखिएपछि सडकको गुणस्तरका बारेमा आशङ्का पैदा भएको हो ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्