पाँचौ तहका कर्मचारीको अकुत सम्पती डेढ करोड बढी, विशेष मुद्दा दायर


 


काठमाडौं, साउन २३ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले कपिलवस्तुस्थित कृष्णनगर नगरपालिकाका पाँचौ तहका कर्मचारी साकिर अहमदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीविरुद्ध बिगो अनुसार एक करोड ५५ लाख ७९ हजार ६ सय ९५ रुपैयाँ ५८ पैसा कायम विशेषमा मुद्दा दायर गरेको हो । अहमदले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी अयोगमा परेपछि अनुसन्धान गर्दा उनले सरकारी सेवा प्रवेश गरेको ३० वर्षमा आम्दानीभन्दा धेरै सम्पत्ति जोडेको देखिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

उनका अनुसार अहमदको समग्र आय तथा व्ययको विश्लेषण गर्दा उनको वैध आय एक करोड १६ लाख ५३ हजार नौ सय ५७ रूपैयाँ ११ पैसा देखिन्छ ।

तर, उनले वैध आयको अनुपातमा गरेका खर्च तथा लगानीतर्फ बैंकको ऋण चुक्ता, अध्ययन खर्च, कम्पनी लगानी, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, ऋण दिएको, पुँजीगत लाभकर, शेयर खरिद, सवारी साधन खरिद, विद्युतीय उपकरण खरिद र बैंक मौज्दातसमेत दुई करोड ७२ लाख ३३ हजार ६ सय ५२ रुपैयाँ ६९ पैसा देखिन्छ ।

अख्तियारका अनुसार अहमदले एक करोड ५५ लाख ७९ हजार ६ सय ९५ रुपैयाँ ५८ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति)को वैधानिक स्रोत खुलाउन सकेनन् ।

आयोगले अहमदविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसार बिगो जरिवाना र कैद सजायको मागदावीसहित विशेषमा मुद्दा दायर गरेको हो ।

आयोगले अहमदकी पत्नी नुर जहाँ र छोरा साजन शाहलाई समेत प्रतिवादी बनाइएको छ । उनीहरुको नाममा रहेको सम्पत्तिलाई बिगो जफत हुने मागदावी आयोगले गरेको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्