संखुवासभा कारागारमा झडप हुँदा दुई कैदीबन्दीको मृत्यु


 


काठमाडौं, साउन २४ । संखुवासभाको जिल्ला कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए ।

आज (बुधबार) बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

उनका अनुसार आज बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले उनीहरु बाहिर निस्किएका थिए । ड्युटीमा खटिएका प्रहरीले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखेका थिए ।

बिहान फेरि करिब पाँच बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएपछि जेलरसहितको टोली त्यहाँ पुगेर हेर्दा दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।

बिनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजाय तोकिएको थियो भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल सजाय भोगिरहेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्