यातायातका १० पूर्वमहानिर्देशक सिआइबीको छानविनमा


 


काठमाडौं । सेटिङका आधारमा एक लाख लाइसेन्स जारी गरेको घटनामा यातायातका तीन कर्मचारी पक्राउ परेका छन् ।

कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल र कम्प्युटर अपरेटरद्वय हरिश भट्ट र नारायण पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो ।

१० वर्षमा करिब एक लाख लाइसेन्स ट्रायल र परीक्षा नै नदिई सेटिङका आधारमा जारी भएको यातायात व्यवस्था विभागकै छानविनमा पुष्टि भएपछि सिआइबीले विस्तृत अनुसन्धान अघि बढाएको हो । यसमा यातायातका अन्य कर्मचारी समेत तानिने सम्भावना छ ।

यो प्रकरणमा यातायातका १० पूर्वमहानिर्देशक सिआइबी अनुसन्धानमा तानिँदै छन् । त्यस कारण सिआइबीको अनुसन्धान प्रभावित पार्न चलखेल सुरु भइसकेको छ ।

२०७२ सालको भदौयता यसरी लाइसेन्स जारी भएको थियो । जसमा पूर्वमहानिर्देशकहरू चन्द्रमान श्रेष्ठ, रुपनारायण भट्टराई, तुलसी गौतम, लावण्यकुमार ढकाल, नमराज घिमिरे, टोकराज पाण्डे, नारायण प्रसाद भट्टराई, सुरेश राउत, गोगन कुमार हमाल र कुमार दाहाल छानविनमा तानिएका हुन् । उनीहरूमध्ये चन्द्रमान, रुपनारायणले अवकाश पाइसकेका छन् । अन्य पदमै छन् ।

सबैभन्दा धेरै लाइसेन्स रूपनारायण भट्टराईको कार्यकालमा जारी भएको छ । २१ फागुन ०७३ देखि ११ जेठ ०७५ सम्म विभागमा महानिर्देशक रहेका भट्टराईको कार्यकाल ३१ हजार ६ सय ६२ नक्कली लाइसेन्स जारी भएको छ  ।

त्यस्तै, गोगनबहादुर हमालको कार्यकाल १० हजार पाँच सय ३५ लाइसेन्स जारी भएको भेटिएको छ । उनी २ भदौ ०७६ देखि २० फागुन ०७७ सम्म विभागको महानिर्देशक थिए ।

नमराज घिमिरे महानिर्देशक हुँदा आठ हजार दुई सय लाइसेन्स दिइएको थियो । उनी २ चैत ०७७ देखि १९ असार ०७९ सम्म विभागमा महानिर्देशक थिए । लावण्यकुमार ढकालको कार्यकालमा सात हजार तीन सय ९४ लाइसेन्स बिक्री भएका थिए । उनी १४ साउन ०७५ देखि २१ फागुन ०७५ सम्म विभागको नेतृत्वमा थिए ।

कुमारप्रसाद दाहाल महानिर्देशक हुँदा तीन हजार पाँच सय ४९ नक्कली लाइसेन्स जारी भए । उनी २७ फागुन ०७५ देखि २६ साउन ०७६ सम्म विभागमा थिए ।

चन्द्रमान श्रेष्ठको कार्यकाल (७ भदौ ०७२ देखि २० फागुन ०७३) मा एक हजार चार सय ५९ तथा तुलसीनाथ गौतमको कार्यकाल (२५ माघ ०७९ देखि १४ फागुन ०७९) मा एक हजार एक सय ३६ नक्कली लाइसेन्स जारी भएको छ ।

त्यस्तै, डा. टोकराज पाण्डेको पालामा एक हजार ८४ नक्कली लाइसेन्स जारी भएको छानविन प्रतिवेदनमा उल्लेख छ । पाण्डे २० भदौ ०७९ देखि २४ माघ ०७९ सम्म विभागमा महानिर्देशक थिए ।

२६ फागुन ०७९ देखि १० साउन ०८० सम्म विभागको नेतृत्व गरेका नारायणप्रसाद भट्टराईको समयमा ६ सय ९७ नक्कली लाइसेन्स वितरण भएको थियो ।

दुई महिना विभागको महानिर्देशक रहेका सुरेश राउतको पालामा तीन सय ५० थान नक्कली लाइसेन्स जारी भएको थियो । विभागका सूचना प्रविधि शाखा प्रमुख उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले नक्कली लाइसेन्स प्रकरण पत्ता लगाएको हो ।

सो प्रतिवेदन थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान र सिआइबीमा पठाइएको छ । सिआइबीले कर्मचारी नै पक्राउ गरेर यसमा छानविन थालेको हो ।

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्