कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम आयोजना गर्दै, विजेतालाई ३ लाख


 


काठमाडौं, साउन २७ । नेपाली कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले आज (शनिबार) पत्रकार सम्मेलन गरी सो कार्यक्रमको आयोजना गर्नेबारे जानकारी दिएको हो ।

सो प्रतियोगितामा भाग लिनेहरुले गिग इकोनोमी र क्लाइमेट एक्सन (जलवायु कार्य) सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुपर्नेछ ।

आयोजकका अनुसार प्रतियोगितामा दुई चरण हुनेछ । त्यसका लागि शनिबार आवेदन खुलाइएको छ भने भदौ ३ गते १ बजे आवेदन दिने मिति सकिनेछ ।

त्यस्तै भदौ ५ गते फाइनलका १० टोली छनोट गरिने र भदौ ९ गते कांग्रेस केन्द्रीय कार्यालयमा फाइनल कार्यक्रम हुने आयोजक पक्षले जनाएको छ । नीतिपत्र ३ हजारदेखि ५ हजार शब्दको बीचमा तोकिएको ढाँचामा हुनुपर्ने जनाइएको छ ।

आयोजकका अनुसार प्रथम विजेताले रु ३ लाख, दोश्रो हुनेले १ लाख ५० हजार र तेश्रो विजेताले ५० हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा छानिएका शीर्ष तीन टोलीको नीतिपत्र र उत्कृष्ट विचारहरू नेपाली कांग्रेसको संसदीय दलको बैठकमा समेत छलफल हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्