अस्पतालबाटै बच्चा चाेरी, डाक्टरसहित दुई जना पक्राउ


 


विराटनगर, भदौ ३ । विराटनगरको ग्रीनक्रस अस्पतालबाट नवजात शिशुलाई गायब गरेको आरोपमा प्रहरीले सोही अस्पतालमा कार्यरत एक डाक्टरसहित दुई जनालाई पक्राउ गरेको छ ।

नवजात शिशु गायब गरेको आरोपमा सोही अस्पतालमा कार्यरत प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोबिन्द राईलाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी अस्पतालका पूर्व मेडिकल सुपरीटेण्डेन्ट समेत रहेका डाक्टर कर्ण दीपेश मेडिकल क्लिनिक सञ्चालन गर्छन् । सरकारी सेवाबाट अवकास पाइसकेका उनी ग्रिनक्रस अस्पतालमा पनि काम गर्छन् ।

युवतीलाई अस्पतालमा लगेका व्यक्ति राईले नै अस्पतालबाट डिस्चार्ज भएपछि बच्चा अस्पतालमै रहेको भन्दै आमालाई मात्र होटलमा लगेर राखेको र बच्चा लिएर आउँछु भन्दै फरार भएको आरोप छ । राईले नै युवतीलाई अस्पताल लगेका थिए ।

तिनै युवतीको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । राईमाथि व्यक्ति बेपत्ता पारेको कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रकाशित मिति: ३ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्