राजनीतिक रुपमा सक्रिय भएको होइन : राष्ट्रपति पौडेल


 


काठमाडौं, भदौ ५ । नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेले राजनीतिक रुपमा सक्रियता देखाएको आरोप लगाएपछि राष्ट्रपति पौडेले त्यसको खण्डन गरेका छन् ।

संसदको अवरोध खुलाउन पहल गर्दै आएका राष्ट्रपति पौडेलले राजनीतिक सक्रियता नदेखाएको स्पष्ट पारेका छन् । आज शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा उनले संविधानले दिएको जिम्मेवारीबारे जानकार रहेको भन्दै राष्ट्रको चिन्ता लागेर छलफलमा बोलाएको बताए ।

संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको भन्दै उनले भनेका छन्, ‘संंविधानमा रहेको यो जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ भन्नेमा म सधैँ चिन्तित रहेको छु ।’

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो राख्दै आएका छन् ।

उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, रास्वपाका सभापति रवि लामिछाने लगायतसँग शीतल निवासमा छलफल गरेका थिए ।

यसअघि विभिन्न दलका नेताहरुसँग अलग–अलग छलफल गरेका उनले मंगलबार बिहान भने संयुक्त बैठक बोलाएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने बैठकमा अनुपस्थित थिए ।

सरकार सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न तयार भएपछि नेकपा एमाले संसदको अवरोध अन्त्य गर्न तयार भएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्