ललितानिवास प्रकरण : आज अदालतमा अभियोजन दर्ता गर्दै सरकारी वकील कार्यालय


 


काठमाडौं, भदाैं १०
ललितानिवास प्रकरणबारे आज अदालतमा अभियोजन दर्ता हुने भएको छ । सरकारी वकीलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा अभियोजन दर्ता गर्न लागेको हो । सीआइबीले सङ्गठित अपराध तथा किर्ते मुद्दा चलाउन सिफारिस गरेको छ ।

कार्यालयका प्रमुख, सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले शुक्रबार नै मुद्दा दर्ताको तयारी गरे पनि प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न नभ्याइएकाले आज आइतबार काठमाडौँ जिल्ला अदालतमा अभियोजन दर्ता गरिने जानकारी दिए ।

ललितानिवासको सरकारी जग्गा हिनामिना गरी व्यक्तिका नाममा लगेको विषयमा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले २८६ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकीललाई बुझाएको छ।

प्रतिवेदनमा चार पूर्वमन्त्री तथा ६ पूर्वसचिवसमेतलाई प्रतिवादी बनाएको सीआइवीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग भने सामान्य बयान मात्रै लिएर उन्मुक्ति दिएको आरोप लागिरहेको छ।

ललितानिवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा किर्ते कागजपत्रका आधारमा योजनाबद्ध र सङ्गठित रूपमा पटक पटक गरी व्यक्तिको नाममा सारिएको निष्कर्ष सिआइबीको छ ।

प्रकाशित मिति: १० भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्