अमेरिकी संसदीय प्रतिनिधिमण्डलले भेट्यो राष्ट्रपति पौडेल


 


काठमाडौं, भदौ १४ । संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ ।

मार्क पोकन नेतृत्वको अमेरीकी सांसदहरूको प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेललाई शीतल निवासमा भेट गरेको हो ।

भेटमा राष्ट्रपति पौडेलले समाजमा मानवीय मूल्य कायम गर्नका लागि सबैभन्दा पहिले लोकतन्त्र स्थापित हुन जरुरी रहेको बताए । उनले लोकतन्त्रको स्थापनासँगै नेपालमा नयाँ संविधानले समावेशी प्रावधानसहितका मानवीय मूल्यहरूलाई स्थापित गरेको धारणा व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेपालमा मानवीय मूल्य स्थापित गर्न के के गर्न सकिन्छ भनेर छलफल गर्नु आफूहरूको भ्रमणको उद्देश्य रहेको अमेरिकी प्रतिनिधि मण्डलको भनाइ थियो । उनीहरूले मानव अधिकार, श्रम, आप्रवासी, बालबालिका, बालविवाह, रोजगारी, व्यापार तथा जनताको न्यायमा पहुँचजस्ता विषयमा छलफल गर्नु भ्रमणको मुख्य उद्येश्य रहेको राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

प्रतिनिधिमण्डलमा सांसदहरू मार्क पोकन, डान किल्डी, भेरोनिका एस्कोबार र सुसन वाइल्ड , नेपालस्थित अमेरीकी राजदूत डीन थोम्पसनलगायतको सहभागिता थियो ।

प्रकाशित मिति: १४ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्