दावा छिरिङले ‘नक्कली कागजात’ पेस गरेर नागरिकता लिएको पुष्टि


 


काठमाडौं, भदौ १४ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ गरिएका दावा छिरिङले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छ ।

तिब्बतीयन मुलका बेल्जियन नागरिक छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको खुलेको हो । नागरिकताबारे छानबिन गर्न गृह मन्त्रालयले उप–सचिव कृष्ण बहादुर कटुवालको नेतृत्वमा बनेको समिति गठन गरेको थियो ।

उक्त समितिले दावाको नागरिकता छानबिन रिपोर्ट उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको समितिका एक जना सदस्यले बताए ।

ठमेलस्थित ‘होटल भियना’को सञ्चालकसमेत रहेका छिरिङले काभ्रेको नमोबुद्ध नगरपालिका–११ घर भएका पेमा तामाङलाई बुबा बनाएर नागरिकता लिएको भेटिएको छ ।

नागरिकता लिनका लागि वडा अध्यक्ष सरस्वती पण्डित कार्कीले सिफारिस गरेको कागजात भेटिएको छ । तर, छानबिन गर्दा सरस्वती पण्डित कार्की नाम गरेको वडाध्यक्ष नै नभेटिएको बताइएको छ ।

प्रकाशित मिति: १४ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्