हेटौडाबाट नक्कली नोटसहित तीन जना पक्राउ


 


मकवानपुर, भदौ १६ । मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

बिहीबार विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगर–१५ स्थित चुरियामाई मन्दिर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार उनीहरुबाट नेपाली नक्कली रुपैयाँ एक हजारको दरले ९५ थान गरी ९५ हजार रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा रौतहट कटहरिया नगरपालिका–६ का १९ वर्षीय धर्मेन्द्र महरा र कटहरिया–१ बस्ने २१ वर्षीय दिपेश दास रहेका छन् ।

थप अनुसन्धान तथा सोधपुछपछि प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–२ वस्ने ४० वर्षीय विजय तामाङलाई पनि नियन्त्रणमा लिइएको डिएसपी कार्कीले बताए ।

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्