कोशीका मुख्यमन्त्री थापा पदमुक्त, हिक्मत कार्कीलाई नियुक्त गर्न परमादेश


 


काठमाडौं, भदौ २१ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले उनलाई पदमुक्त गरेको हो ।

प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेत दिएको छ ।

१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

त्यसविरुद्ध एमाले संसदीय दलका नेता कार्की सर्वोच्च पुगेका थिए । त्यही मुद्दामा न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले सभाको अध्यक्षता गरेका व्यक्तिले दिएको मतलाई संविधानसम्मत भन्न नमिल्ने ठहर गरेको हो ।

विश्वासको मत बदर गर्दै इजलासले मुख्यमन्त्री थापालाई पदमुक्त गरेको हो ।

थापा २१ असारमा संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखको समेत हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री नियुक्त गरेको पाइएपछि सर्वोच्चले ११ साउनमा उनको नियुक्ति नै बदर गर्यो र, पुन: नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न भनेको थियो ।

प्रकाशित मिति: २१ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्