मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ सय नाघ्यो


 


काठमाडौं, भदौ २३ । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ ।

त्यहाँको गृहमन्त्रालयका अनुसार हालसम्म ६ सय ३२ जनाको मृत्यु भएको छ भने ३२९ जना घाइते भएका छन् । घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ ।

भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्प आएको थियो । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।

शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ ।

यसैबीच, विश्वका विभिन्न मुलुकका नेताहरूले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्