मरेका गाईसहित दुई जना पक्राउ, गाई तस्कर रहेको खुलासा


 


मध्यविन्दु, भदौ २५ । पाल्पाबाट अवैध रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् ।

तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

बा प्र ०१–०३–००१ च १३८६ नं को पिकअप जिपमा नौ गाई ल्याउँदै गरेको अवस्थामा दुई जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको उनले बताए ।

“पिकअपमा नौ गाई खाँदाखाँद गरेर ल्याउने क्रममा नौ वटामध्ये सात गाई मरेका र दुई गम्भीर अवस्थामा रहेको पाएका छौँ”, उनले भने, “पिकअप भ्यानमा पाल्पाको निस्दीतिरबाट कच्ची बाटो हुँदै पूर्वपश्चिम राजमार्गतर्फ ल्याउँदै गर्दा मरेको भेटिएका हुन् ।” पिकअप भ्यान र घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पिकअप चालक रौतहटको गजुरा–७ निवासी २८ वर्षीय गोजेन्द्र चौधरी र नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–८ निवासी ४० वर्षीय धुव्र कार्की रहेका छन् ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको रेग्मीले बताए ।

प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्