भारतद्वारा भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामाग्री सहयोग


 


काठमाडौं । भारतले भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री प्रदान गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे प्रतिबद्धतालाई कार्यान्वयन गर्दै बिहीबार भारतीय वायुसेनाको सी–१३० विमान भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत सामाग्री लिएर नेपाल आएको हो ।

राहत सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

पहिलो रेस्पोन्डरको रुपमा भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायुसेनाको विशेष विमानका तीनवटा फ्लाइटमार्फत ३३ टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ ।
भूकम्प प्रभावित परिवारका अत्यावश्यक आवश्यकताहरु पुरा गर्न यस राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण जस्तैं शल्यचिकित्सा सम्बन्धी उपकरण, पोर्टेबल भेन्टिलेटर तथा सरसफाई सामग्री समावेश थिए ।

नेपाल भारतको घनिष्ट मित्र एवम् छिमेकी भएकोले नेपाललाई सहयोग गर्न भारत प्रतिबद्ध रहेको कुरा भारतले भूकम्प लगत्तै नेपाललाई सहयोग गर्न देखाएको तत्परताले पुष्टि गरेकाे देखिन्छ । नेपालको प्रमुख विकास साझेदार भएको नाताले नेपाली जनतालाई सहयोग गर्न भारत सदैव तयार रहेकाे दूतावासले जनाएकाे छ ।

नेपाल सरकारले उपलब्ध गराएको निर्देशिका र प्राथमिकताको आधारमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गर्दै आएकाे दूतावासकाे भनाइ छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्