धरहरा क्षेत्रमा रहेको भवनमा भोलिदेखि निःशुल्क पार्किङकाे व्यवस्था


 


काठमाडौँ, १३ माघ : गत मङ्गलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ । कामपाले उक्त सेवा भोलि माघ १४ गतेदेखि सर्वसाधारणका लागि निःशुल्करूपमा उपलव्ध गराउन लागेको जनाएको छ ।

धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलव्ध हुने भएको हो । कामपाले न्यूरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकलाई सहज पार्किङस्थल उपलव्ध गराउने क्रममा उक्त स्थानबाट सेवा दिन लागिएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, “यसअघि काठमाडौँ टावर (साविक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलव्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलव्ध गराउन लागेका हौँ ।”

पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलव्ध हुनेछ । शहीदगेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ । गएको दसैँदेखि छठपर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।

प्रकाशित मिति: १३ माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्