भारतीय स्करपियो गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद


 


विराटनगर । सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट झण्डै दुई करोड रुपैया बराबरका नक्कली नोट बरामद गरेको छ ।

आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको हो ।

नक्कली नोटसँगै एक जना भारतीय नागरिकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो ।

खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएको छ ।

गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पक्राउ परेका छन् भने गाडीमा सवार अर्का व्यक्ति भने फरार रहेका छन् । नक्कली नोटसँगै बरामद गाडी र चालकमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्