भ्रष्टाचारी ठहर भएका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा


 


काठमाडौं, चैत १६ । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा जरिवाना मात्रै भएको र कैद सजाय नभएको भन्दै गुरुङको निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोग लागेका गुरुङ मनाङबाट निर्वाचित भएपछि स्वतः निलम्बनमा परेका थिए ।

सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा लागेपछि स्वतः निलम्बन हुने व्यवस्था छ । संसद सचिवालयले उनलाई पुस १२ गते निलम्बनको सूचना जारी गरेको थियो ।

उनलाई फागुन १६ गते विशेष अदालतबाट दोषी ठहर गरे जरिवानामा तोकेको छ ।

भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद फुकुवा गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

फनपार्क भाडा विवाद मुद्दामा गुरुङसहित ९ जना दोषी ठहर भएका थिए । मुद्दामा ५ जनालाई सफाइ दिइएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्