एकीकृत समाजवादीले तल्लो तहका सुझाव दस्तावेजमा समावेश गर्ने


 


काठमाडौँ, वैशाख १४ । नेकपा ९एकीकृत समाजवादी०ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा बनाउन तल्लो तहको सुझाव समावेश गर्ने भएको छ । पार्टीले मातहतका सात प्रदेश सम्पर्क कमिटी र ७४ जिल्ला सम्पर्क मञ्चसँग राय तथा सुझाव मागेको छ ।

आगामी जेठ मसान्तभित्र मातहतका सबै सम्पर्क कमिटीमा दस्तावेजबारे विस्तृत छलफल गरी केन्द्रमा राय, सुझाव बुझाउन समयसीमा निर्धारण गरिएको सो पार्टीले जनाएको छ । तल्लो तहदेखि आएको सुझाव समावेश गरी साझा प्रतिवेदन निर्माण गर्न दस्तावेजलाई परिस्कृत र परिमार्जित गरिने छ ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि असार १ गतेदेखि प्रतिनिधि चयन गर्न लागेको पार्टी सचिव मेटमणि चौधरीले जानकारी दिनुभयो । पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीले सम्बन्धित प्रतिनिधिको नामवली आगामी जेठ दोस्रो सातासम्म सिफारिस गरी केन्द्रमा पठाउने छन् ।

पार्टी मातहत कमिटीले पठाएको नामावलीका आधारमा प्रतिनिधि छनोट गरिने छ । पार्टी सदस्यता प्रमाणीकरणपछि उनीहरू मतदाता तथा उम्मेदवार बन्न पाउने छन् । सबै कमिटीले सम्बन्धित नेताको सङ्गठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रतिनिधिको सिफारिस गर्न र आफ्नो कार्य क्षेत्रका सदस्यलाई बैठक गरी त्यसको जानकारी गराउनुपर्ने छ ।

पार्टी सदस्यता विस्तार तथा सङ्गठन सुदृढीकरण गर्न गत वर्ष माघ २५ गतेदेखि चैत २५ गतेसम्म महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरिएको थियो । सो अवधिमा पार्टी सदस्य व्यवस्थित तथा विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, वितरण गर्न सदस्यता शुल्कलगायत व्यवस्थित गरिएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्