लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा


 


काठमाडाैं । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला एयरपोर्ट) मा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका छन् ।

बाक्लो तुवालोले भिजिबिलिटी कमजोर हुँदा दुई दिनदेखि उडान प्रभावित भएपछि पर्यटकहरू समस्यामा परेका हुन् । धेरै यात्रु तीन दिनदेखि जहाजको पर्खाइमा छन् भने कतिपय पैदल हिँडेर काठमाडौं गएका फर्किएका छन् ।

पथप्रदर्शक आङ्दनु शेर्पाले पदयात्रा सकेर काठमाडौं फर्किने पर्यटकहरू समस्यामा परेका बताए ।

प्याराडाइज लजका सञ्चालक दावाफुटि शेर्पाले पनि समयमा उडान नहुँदा सगरमाथा आधार शिविरबाट फर्किएका विदेशी पर्यटकहरू दुई दिनदेखि लुक्लामै रोकिएका बताइन् ।

विमानस्थलका प्रमुख उमेश पन्थीका अनुसार दैनिक ५४ सम्म उडान भर्ने सो विमानस्थलबाट शुक्रबार जहाजतर्फ कुनै उडान नभएको र आज भने आठ उडान भएका बताए । हेलिकप्टर उडान भने नियमित भइरहेको पन्थीले जानकारी दिए ।

लुक्ला विमानस्थलमा जहाज उडानका लागि पाँच किलोमिटर भिजिबिलिटी चाहिने गरेको छ । पर्यटकहरू यही विमानस्थल भएर सगरमाथा जाने गरेका छन् भने यहाँबाट दैनिक हेलिकप्टरसहित तीन सय बढी उडान हुने गरेका लुक्लास्थित विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्