प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्छुः मुख्यमन्त्री कार्की


 


मोरङ, २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्ने बताउनुभएको छ ।

कोशी प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज साँझ सपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरूसँग उहाँले प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकाले सबै दलसँगको सहकार्यमा अगाडि बढ्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले वर्तमान सरकार आगामी साढे तीन वर्षको लागि निर्माण भएकाले अहिले उठेका प्रश्नहरुको जवाफ दिनेगरी काम गर्ने बताउनुभयो । “नेपालको संविधान र कानुनअनुसार हुने हरेक कुरालाई सरकारले आत्मसात गरेको छ तर कानुन र संविधानभन्दा माथि र बाहिर कोही छैन भन्नेमा पनि हामी प्रष्ट छौँ”, उहाँले भन्नुभयो ।

उहाँले प्रदेशका समस्या सम्बोधन र प्रदेश संरचनाप्रति जनताको विश्वास उठाउने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउने समेत उहाँको भनाइ छ । मुख्यमन्त्री कार्कीले वर्तमान सरकारले चाँडै विश्वासको मत लिनुका साथै मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनुभयो ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्