दशैँ लागेपछि सवारी दुर्घटनामा ३४ को मृत्यु


 


काठमाण्डौँ, असोज २९

दसैँको लागि गाउँ घर जानेको चाप ह्वात्तै बढेको छ । अहिलेसम्म दसैँका लागि भनेर १३ लाख भन्दा धेरै यात्रुले काठमाडौं छोडिसकेका छन् ।
दसैँमा यात्रु र गाडीको चाप बढेसँगै दुर्घटना पनि बढेको छ ।

पछिल्लो ५ दिन यता गाडी दुर्घटनामा ३४ जनाले ज्यान गुमाएका छन् । प्रहरीको तथ्याङक अनुसार घटस्थापनाका दिनदेखि आजसम्ममा २१३ वटा दुर्घटना भएको छ । यी दुर्घटनामा ३४ जनाको ज्यान गएको छ भने १४५ जना घाइते भएका छन् । यस्तै, ५५ जना गम्भीर घाइते भएका छन् । काठमाडौं उपत्यकामा मात्रै १५१ वटा दुर्घटना भएको छ । जसमा ७ जनाको ज्यान गएको छ ।

यस्तै, धादिङ, इटहरी, कोहलपुर, अत्तरिया, बुटवल, गुल्मी लगायत ठाउँमा भएका दुर्घटनामा २७ जनाले ज्यान गुमाएको प्रहरीको अध्ययनले देखाएको छ । आज बिहानमात्रै गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

यो तथ्याङकले दसैँ लागेसँगै दुर्घटनाको जोखिम पनि बढेको देखाएको छ । गएको वर्षको दसैँमा घटस्थापनादेखि पूर्णिमासम्म ३८० वटा दुर्घटना भएको थियो । त्यसमा १०४ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्