‘विकास निर्माणमा सम्बन्धित पक्षबीच समन्वय आवश्यक’


 


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणमा सबै सरकारी निकायबीच समन्वय आवश्यक भएकाे बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री नेपालले शुक्रबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिका-३२, कोटेश्वरस्थित फूलबारी मार्गको अनुगमन तथा निरीक्षण गर्दै सबै निकायबीच समन्वय नहुँदा विकास निर्माण कार्य लथालिंग हुने बताउनुभयो ।

‘सडक निर्माण गर्दा सडक, खानेपानी र ढल निकास विभाग तथा कार्यालयबीच समन्वय हुनु आवश्यक छ’ उहाँले भन्नुभयो, ‘तार सडकबाटै सप्लाई हुने हुनाले अहिले त्यसमा टेलिकम र विद्युत कार्यालय पनि जोडिएका छन् । यी निकायबीच समन्वय गरियो भने निर्माण कार्य राम्रो र छिटो हुन्छ । समन्वय गरिएन भने निर्माण कार्य लथालिंग हुन्छ । बाटो कहिले सडक कार्यालयले पीच गर्छ ।

त्यसको लगत्तै खानेपानीले खन्छ । खानेपानीले पीच गर्न लगाउँछ । त्यसपछि फेरि ढल कार्यालयले खन्छ । एउटै बाटो पटकपटक खनेको खन्यै । विकास निर्माणमा पनि पटक पटक खर्च । सडक खनिरँदा हिड्नेलाई पनि सास्ती । सडकसँग सम्बन्धित निकायबीच समन्वय नहुँदा त्यस्तो भएको हो । निर्माणमा अब त्यस्तो गर्नु हुँदैन । सम्बन्धित निकायले समन्वय गर्नैपर्छ ।’

वरिष्ठ नेता नेपालले ३ वर्षभित्र आफ्नो निर्वाचन क्षेत्रभित्रका सबै सडक सुविधायुक्त हुने बताउनुभयो । महानगरभित्रका सडक १ वर्षभित्रै कालोपत्र सक्न स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिइएको उहाँले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: २० पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्