सिअहेव, एचए र अनमी समेत स्वास्थ्यचौकी इन्चार्ज बन्न पाउने


 


काठमाडौं– सरकारले संघीय संरचना अनुसार बनाएको नयाँ संगठन संरचना अनुसार अब स्वास्थ्य चौकीको इन्चार्ज सिअहेव हुन पाउने भएका छन्। स्वास्थ्य मन्त्रालयले तयार पारेको नयाँ संरचनामा सिअहेवलाई तहगत वरिष्ठताको आधारमा स्वास्थ्य चौकीको इन्चार्ज बन्न पाउने व्यवस्था गरिएको छ।

स्वास्थ्यमा लामो समयदेखि हेल्थ असिस्टेन्ट (एचए) र सिअहेवमध्ये को स्वास्थ्य चौकीको इन्चार्ज हुने भन्ने विवाद चल्दै आइरहेको छ। हालसम्म स्वास्थ्य चौकीको इन्चार्ज हेल्थ असिस्टेन्टले नै गर्दै आइरहेका छन्।

तर, नयाँ संरचनामा छैठौं तहका सिअहेवले स्वास्थ्य चौकीको इन्चार्ज हुन पाउने बाटो खुला गरिएको छ। अहिलेको नयाँ व्यवस्था अनुसार स्वास्थ्य चौकीको तहगत वष्ठिताका आधारमा सिअहेव, एचए र अनमीमध्ये जो पनि प्रमुख हुनसक्ने मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए।

‘तहगत वरिष्ठताका आधारमा नेतृत्व पाउने व्यवस्था भएको छ,’ उनले भने, ‘यो आधारमा हेर्दा स्वास्थ्यचौकीमा जो तहगत आधारमा वरिष्ठ छ उ नै उक्त संस्थाको इन्चार्ज हुन्छ।’ उनले यो व्यवस्था लागू गर्दा विवाद आउन सक्ने भए पनि सरकारले गरेको निर्णयलाई सबैले मान्नु पर्ने बताए।

हेल्थ असिष्टेन्टहरुले योग्यताका आधारमा आफुहरुले स्वास्थ्य चौकीको नेतृत्व गर्न पाउनुपर्ने तर्क राख्दै आइरहेका छन्। उनीहरुले सरकारले अहिले बनाएको संरचनाको विरोध समेत गरेका छन्।

सरकारले अहेबलाई स्तरबृद्धि गर्दै छैठौँ तहमा लगेपछि एचए र सिअहेबबीचको विवाद चर्किएको हो। एचए पाँचौ तहका हुन्छन्। तर शैक्षिक योग्यताका आधारमा सिअहेबभन्दा एचए माथिल्लो तहका हुन्।

स्वास्थ्य सेवामा शैक्षिक योग्यता नपुगे पनि स्वतः बढुवा पाएका स्वास्थ्यकर्मीको संख्या झन्डै ४ हजार छ। निजामती सेवामा भएको लोकतान्त्रिक बढुवा (२४ घ) को सिको गर्दै स्वास्थ्य सेवा ऐनमा राखिएको निश्चित मापदण्ड पुगेपछि स्वतः बढुवा हुने प्रावधानले स्वास्थ्य सेवामा समस्या ल्याएको हो। तत्कालीन स्वास्थ्यमन्त्री अमिक शेरचनको पालामा सुरु भएको यो व्यवस्थाले स्वास्थ्यकर्मीहरुमा फाटो ल्याउने काम गरेको छ।

यो व्यवस्थापछि स्वास्थ्य सेवामा शैक्षिक योग्यता बढी भएका एचएच भन्दा १८ मिहने तालिम लिएका अहेब माथिल्लो तहमा, तीन वर्षे कोर्स पढेका स्टाफ नर्सभन्दा १५ महिने अनमी र ल्याब टेक्निसियन भन्दा असिस्टेन्ट माथि गएका थुप्रै कर्मचारी छन्।

-स्वास्थ्यखबरबाट

प्रकाशित मिति: २४ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्