निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता


 


काठमाडौँ, पुस २५

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले बुधवार संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेकी हुन् । प्रस्ताव बुधवार दिउँसो ३ बजे दर्ता भएको हो । निर्मलाको हत्या भएको ५ महिनासम्म पनि अपराधी पहिचान नहुनु सरकार शून्यताको अवस्थामा पुगेको अनुभूति भइराखेकोले संग्रौलाको दावी छ ।

‘घटनाको सत्यतथ्य पत्ता लगाउन आयोगमाथि आयोग गठन गर्दै सरकारले प्रतिवेदन बुझिराखेको छ । तर सरकारले प्रतिवेदनहरू सार्वजनिक गर्ने हिम्मत गरिराखेको छैन ।

यसले आम जनमानसमा निर्मला पन्तको घटनामा सरकारमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न भएका शक्तिशाली व्यक्तिहरूको हात रहेको आशंका गरिराखेका छन्,’ प्रस्तावमा अगाडि भनिएको छ, ‘अनुसन्धानका नाममा लागूपदार्थ दुव्र्यसनी, मानसिक सन्तुलन ठीक नभएका र निर्दोष युवाहरूलाई यातना र विभिन्न आर्थिक प्रलोभन लगायतका आश्वासन दिई जबर्जस्ती जिम्मेवारी लिन लगाउने प्रहरी प्रशासनको क्रियाकलापले घटनालाई थप शंकाको घेरामा ल्याएको छ ।’

निर्मला हत्याकाण्डको चौतर्फी दबाबका बाबजुत सरकार उदासिन र तथ्यलाई बाहिर ल्याउन नसक्नु अत्यन्त खेदजनक भएको उनले बताएकी छन् ।

प्रकाशित मिति: २५ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्