अख्तियारको फरार सूचीमा रहेका पूर्वमन्त्री विक्रम पाण्डे रिहा, बुझाए ४ करोड


 


काठमाडौँ । अख्तियारको फरार सूचीमा रहेका पूर्व वनमन्त्री विक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार विशेष अदालतले थुनछेक बहसपछि पाण्डेलाई धरौटी रिहा गरेको हो ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले पाण्डेलाई ४ करोड धरौटीमा रिहा गरेको छ ।

सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे ४ करोड धरौटी बुझाएर रिहा भएका अदालतका प्रवक्ता पुष्पराज पाण्डेले रातोपाटीलाई जानकारी दिए ।

पाण्डेलाई विशेष अदालतले १५ दिनभित्रै अदालतमा उपस्थित हुन भनेको थियो । उनी तोकिएको समयमै अदालतमा उपस्थित भएका हुन् ।

‘तर, पाण्डेले बुधबार नै रकम भने बुझाएका छैनन्,’ प्रवक्ता पाण्डेले भने, ‘ग्लोबल आईएमई बैंक साक्षी बसेको छ । सोही आधारमा उनलाई रिहा गरिएको हो ।’

अख्तियारले पाण्डेविरुद्ध दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा केही समयअघि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले पाण्डेसँग दुई अर्ब १३ करोड ७६ लाख ८० हजार विगो माग गरेको थियो ।

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्