प्रचण्डले गल्ती गर्दा छटपटीमा पऱ्यो सरकार


 


काठमाडौं माघ १८
भेनेजुएलाका विवादास्पद कम्युनिस्ट राष्ट्रपति निकोलस मडुरोको विरुद्धमा शुरु भएको आन्दोलन र त्यसक्रममा संयुक्त राज्य अमेरिकालगायतका मुलुकले लिएको निर्णयप्रति सत्तारुढ नेकपाद्वारा जारी वक्तव्य अन्तर्राष्ट्रिय जगतमा समेत चासो र चर्चाको विषय बन्न पुगेको छ । नेकपा अध्यक्ष प्रचण्डद्वारा अमेरिकालाई तथानाम गाली गरी जारी गरिएको वक्तव्यलाई लिएर नेपालस्थित अमेरिकी राजदूतावासले गम्भीर चासो व्यक्त गऱ्यो ।

अमेरिका र नेपालबीच परराष्ट्रमन्त्रीस्तरमा हालै भएको भेटवार्ता तथा दुई देशबीच सम्बन्धको नयाँ आयाम शुरु हुने अपेक्षा राखिएका बेला प्रचण्डको वक्तव्यले सत्तारुढ पक्षभित्रै ठूलो हलचल पैदा गरेको छ ।

सत्तारुढ पार्टीको निर्मम वक्तव्य जारी भएलगत्तै अमेरिकी राजदूतावासले परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा माग गरेको थियो, जसको जवाफ गोलमटोल ढङ्गमा परराष्ट्र मन्त्रालयले दिइसकेको छ । सरकारको धारणा भन्दै परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा ‘कुनै पनि मुलुकमा वाह्य हस्तक्षेप हुन नहुने र भेनेजुयलाको राजनीतिक समस्याको समाधान संवैधानिक तवरले त्यहाँका नागरिकको चाहनाअनुसार हुनुपर्ने’ धारणा अघिसारिएको छ ।

तथापि, अमेरिका प्रचण्डको वक्तव्यका कारण निकै गम्भीर भएको बुझिएको छ । दूतावासले परराष्ट्रमन्त्रीसँग सरकारको स्पष्ट धारणा माग गरेपछि सरकार र नेकपाभित्र एक–अर्कालाई दोषारोपण गर्ने क्रम चलेको थियो । मुडरोको शपथग्रहण समारोहमा सहभागी भएर आएका नेकपा नेता बलराम बास्कोटाको हुटहुटीमा लागेर प्रचण्डले अमेरिकाविरुद्ध वक्तव्य दिएको भन्ने भनाइ केहीको छ भने युनिफेकेसन चर्च र पश्चिमाहरूसँगको ‘कनेक्सन’ नभएको देखाउन वरिष्ठ नेता माधवकुमार नेपालले वक्तव्य जारी गर्ने अग्रसरता लिएको भन्ने पनि कतिपयको भनाइ छ ।

एक सूत्रले जनाएअनुसार प्रचण्डले माधवकुमार नेपालसमक्ष भेनेजुएलाको विषयमा मडुरोलाई समर्थन र अमेरिकी हस्तक्षेपको विरोध गर्दै वक्तव्य जारी गर्नुपऱ्यो भनी प्रस्ताव राखेका थिए । माधव नेपाल पनि निर्वाचित मडुरो सरकारविरुद्ध भएको हस्तक्षेपको विरोध गर्नैपर्छ भन्दै हौसिए र तत्काल पार्टीका कुनै एक युवा नेतालाई वक्तव्य तयार गर्न निर्देशन दिए । तर, प्रचण्डको वक्तव्य आउँदा माधव नेपालले तयार गर्न लगाएकोजस्तो नआएको बताइन्छ । नरम खालको वक्तव्यलाई कडा र आक्रामक बनाएर प्रचण्डले जारी गरेका थिए ।

यसरी कडा रूपमा आएको प्रचण्डको वक्तव्यको खण्डन गर्दा पनि गलत सन्देश जाने र वक्तव्यको समर्थन गर्दा झनै ठूलो समस्या उत्पन्न हुने भएपछि सरकारले यसरी बीचको बाटो अपनाएर अमेरिकालाई आश्वस्त तुल्याउन खोजिएको भए पनि नेपाल सरकारको यस्तो विज्ञप्तिका आधारमा अमेरिकाले चित्त बुझाउने सम्भावना भने नरहेको सम्बद्ध विज्ञजनको धारणा छ ।

यसरी भेनेजुएला प्रकरण विवाद र तनावको विषय बनेपछि मडुरोको निमन्त्रणा स्वीकार गरिसकेका माधवकुमार नेपालचाहिँ लाओसमा शासन गरिरहेको त्यहाँको कम्युनिष्ट पार्टीको निम्तो मान्न एक प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्