शून्य लागतमा कामदार लिने बारे युएईसँगको वार्ता टुंगोमा पुगेन


 


काठमाडौं माघ १८
नेपाली कामदार शून्य लागतमा लैजानुपर्ने नेपालको प्रस्तावमा संयुक्त अरब इमिरेट्स (यूएई)ले छलफलपछि मात्र ठोस जवाफ दिने भएको छ । सन् २००७ मा भएको द्धिपक्षीय समझदारी नवीकरणका लागि वार्ता गर्न यूएई गएको नेपाली टोलीले शून्य लागतमा कामदार लैजानुपर्ने र कामदारको २४ घण्टे बीमाको व्यवस्थालगायत कामदारको सुरक्षा र सेवा सुविधाका बारेमा प्रस्ताव गरेपछि यूएईले त्यस विषयमा थप छलफल गर्नुपर्ने धारणा राखेको वार्तामा सहभागी एक नेपाली अधिकारीले जानकारी दिए ।

वार्ताका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख डा. रामप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली नेपालबाट यूएई गएको थियो । टोलीमा नेपाली दूतावासबाट कार्यवहाक राजदूत सागरप्रसाद फुुँयाल, श्रम काउन्सिलर भेषबहादुर कार्की तथा श्रम सहचारी मोतिराम भुसाल पनि सहभागी भएका थिए ।

यूएईको प्राविधिक टोलीको नेतृत्व सहसचिव डा.ओमार अलनुवाईमीले गरेका थिए । उनी यूएईको मानव संशाधन मन्त्री नाशर बिन थानी जुमा अल हाम्लीका सल्लाहकारसहित मन्त्रालयका सञ्चार तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने सहसचिव पनि हुन ।

श्रम सहचारी भुसालका अनुसार दुबै पक्षले आफ्ना देशका धारणा राखेपछि टुंगोमा पुग्न दुबै पक्षले आ–आफ्ना मन्त्रालयमा थप छलफल आवश्यक रहेको भन्दै थप वार्ता गर्ने भन्दै निष्कर्षविहिन हुन पुगेको थियो । कार्यवाहक राजदूत फुँयालले वार्ताका क्रममा उठेका कतिपय सन्दर्भ पुरानो सम्झौतामा नरहेको र नयाँ विषयले समेत प्रवेश पाएको भन्दै ती विषय दुवै देशको कानुन अनुसार मिलाउनुपर्ने देखिएकोले थप छलफल आवश्यक छ भन्ने निष्कर्षमा पुगेको बताए ।

‘सहमति भएका विषय टुंगो लगाउन र बाँकी रहेका विषय प्राविधिक टोलीले निष्कर्षमा पुर्‍याएपछि दुबै देशका मन्त्रीस्तरमा छलफल गरेर सम्झौतामा नवीकरण गरिने छ’ राजदुत फुँयालले भने ।

घरेलु कामदार, शून्य लागत, तथा २४ घण्टे बीमा र कामदारको न्युनतम तलब लगायतका बिषयमा थप छलफल गर्नुपर्ने बताईएको छ । ओमानसँग नयाँ श्रम सम्झौता र यूएईसँगको पुरानो श्रम सम्झौताको नवीकरणका लागि छलफल गर्न शनिबार ओमान पुगेको नेपाली टोली मंगलबार यूएई गएको थियो । ओमनले नेपालबाट शून्य लागतमा कामदार लैजाने र कामदार लैजादा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै ब्यहोर्ने गरी विषयमा सहमति जनाएको बताइएको छ । श्रम सम्झौताका लागि छलफल गर्न गएको सहसचिव स्तरीय नेपाली टोलीसँग ओमनी पक्षले उक्त सहमति जनाएको हो ।
ओमनसँग पहिलोचोटी सम्झौता हुन लागेको हो । हाल यूएईमा करिब चार लाख र ओमनमा ३३ हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन् । छलफल सकेर नेपाली टोली शनिबार नेपाल फर्किने बताईएको छ ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्