महापञ्च एकता, हिन्दू राष्ट्र र राजतन्त्र : फुट र जुटको इतिहास


 


काठमाण्डौं । दुई तिहाईको कम्युनिष्ट सरकारले जनचाहना अनुरुप काम गर्न नसकिरहेको बेला हिन्दू राजतन्त्रका पक्षधर शक्तिहरू फेरि संगठित हुन थालेका छन । स्थानीय सरकार गठन भएको करिब २ बर्ष र संघीय सरकार गठन भएको एक बर्ष पुग्न लाग्दा केपी ओली नेतृत्वको सरकारले जनताका बीचमा उल्लेख्य काम गर्न नसकिरहेको टिकाटिप्पणी हुन थालेका बेला पञ्चायतकालीन महापञ्चहरूकाबीच एकता भएको छ ।

२०७५ माघ १८ गते काठमाण्डौको राष्ट्रिय सभागृहमा पशुपति शम्शेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच एकता भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को निमार्ण भएको छ । पार्टीले हिन्दू राष्ट्र र संवैधानकि राजसंस्थालाई बैचारिक नीतिकारुपमा अबलम्बन गर्ने एजेण्डा बोकेको छ ।

पञ्चायती राजका स्थापित राजनीतिक खेलाडीका रुपमा रहेका लोकेन्द्रबहादुर चन्द, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीबीचको एकताले सबैभन्दा खुसी राजावादीहरू देखिएका छन । दोस्रो संविधान सभाको निर्वाचन पछि धर्म निरपेक्षता र गणतन्त्र स्वीकार गरेर राजनीतिक कर्म गरिरहेका पशुपति शम्शेर राणा एकतासंगै हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रका पक्षमा फर्किनुले कमल थापा नेतृत्वको राप्रपाका नेता कार्यकर्ताहरू पनि हौसिएका छन ।

पूर्वपञ्चहरूका पार्टी फुट्नु र जुट्नुलाई मानिसहरूले अस्वभाविक मान्दैनन् तर यति बेलाको राणा, लोहनी र चन्दको एकतालाई नेपाली राजनीतिमा अर्थपूर्णरुपमा हेरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह राजतन्त्र फर्काउन अनेकांै प्रयास गरिरहेका छन् । उनको सक्रियताले पूर्वपञ्चहरूलाई बेला बेलामा उत्साहित पार्ने गरेको छ । कांग्रेस पार्टीभित्र पनि महामन्त्री शशांक कोइराला र नेता शंकर भण्डारीहरूले हिन्दू राष्ट्रको पक्षमा बोल्दै आउँदा यता पूर्वराजा ज्ञानेन्द्र शाह र उनका शुभचिन्तक, समर्थकहरू हिन्दू राष्ट्रको आवरणमा राजतन्त्र फर्किने कुरामा आशावादी बन्दै गएका छन् ।

संविधानमै नेपाल धर्म निरपेक्ष राष्ट्र हुने उल्लेख भइसकेको छ । कांग्रेसले पनि आफ्ना राजनीतिक दस्तावेजहरूमा धर्म निरपेक्ष राष्ट्र उल्लेख गर्ने गरेको छ । तर, २०७५ मंसिरमा राजधानीमा भएको कांग्रेस महासमितिको बैठकमा कांग्रेसले नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन ग¥यो । नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्नेमा भारतको जोड बढी छ ।

राप्रपाका अध्यक्ष कमल थापाबाट नेपालमा हिन्दू राष्ट्रको अभियान सफल नहुने निष्कर्षसहित भारतले कांग्रेसलाई उपयोग गर्ने नीति लिएको देखिन्छ । कांग्रेस महामन्त्री शशांक कोइरालालगायतका नेताहरूले खुलेरै हिन्दूराष्ट्रको पक्षमा लाग्नुले कमल थापाबाट मात्र हिन्दू राष्ट्र स्थापनाको अभियान सम्भव नहुने देखिएपछि भारतले कोइरालालाई उपयोग गरेर गर्न खोजेको विश्लेषकहरूको भनाई छ । यसरी एकातिर हिन्दू राष्ट्रको एजेण्डा कांग्रेसभित्र प्रवेश पाएपछि त्यसैको आडमा राजतन्त्रको पुनरस्थापनाको वहस पनि अघि बढ्ने अपेक्षा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको बताइन्छ । त्यसका लागि सबै पूर्वपञ्च र नेताहरूलाई राजतन्त्रवादीहरूले एकता प्रक्रियामा आउन दबाब दिइरहेको देखिन्छ ।

केही बर्ष यता पूर्वराजा ज्ञानेन्द्र बेलाबखतका शुभकामना सन्देश र विज्ञप्ति जारी गर्न काममा मात्र सीमित छैनन् । उनी आफ्नो पक्षमा देशभित्र जनमत र विदेशमा समर्थन जुटाउन क्रियाशील हुँदै आइरहेका छन । राणा र लोहनीको पार्टी एकताले कमल थापालगायतका पूर्वमहापञ्च, नेताहरूलाई पनि पार्टी एकतामा आउन दबाब बढेको थापा निकट नेताको भनाई छ । आगामी निर्वाचन अघि नै हिन्दू राष्ट्रसहितको संवैधानिक राजतन्त्रका पक्षधर शक्तिहरूको एकता भइसक्ने ती नेताले बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको चाहनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन खेमाबीच एकताको प्रयास बमोजिम नै राणा र लोहनी एक भएको एक थरीको दाबी छ । यो एकताका लागि पूर्वराजा ज्ञानेन्द्रले २०७५ फागुनमा झापाको हिमालयन टी गार्डेनमा राप्रपाका तीनै घटकका नेताहरूलाई बोलाएर आग्रह गरेको खबर प्रकाशमा आएका थिए । त्यसबेला पूर्वराजासँग राप्रपा नेताहरू लोकेन्द्रबहादुर चन्द, बुद्धिमान तामाङलगायतका शीर्ष र मध्यम खालका एक दर्जन नेताहरूलाई बोलाई एकताका बारेमा जोड गरेका थिए । स्रोतका अनुसार, पूर्वराजाको चाहना राप्रपा एक भइदिओस् भन्ने छ ।

यस्तो छ फुट र जुटको इतिहास
२०४७ साल यता पूर्वपञ्चहरूको पार्टी राप्रपा आधा दर्जन पटक विभाजित भएको छ भने, त्यति नै पटक जोडिएको पनि छ । पार्टी गठन गर्ने निर्णय त भयो तर नेतृत्व कसले गर्ने भन्ने विवाद सुरु भयो । त्यो विवाद थियो सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दका बीचमा । नेतृत्वको यही विवादका कारण पार्टी गठन गर्ने निर्णयसंगै २०४७ जेठ १५ गते दुई पार्टी जन्मिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) र राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) नामका दुई पार्टीको घोषणा भयो । बहुदल स्थापनापछि भएको पहिलो चुनावमा यी दुवै पार्टीले भाग लिए । चुनावमा देशभरका २ सय ५ निर्वाचन क्षेत्रमा चन्द पक्षले तीन र थापा पक्षले एक सिटमात्रै जित्यो ।

चन्द पक्षबाट पशुपति शमशेर राणा (सिन्धुपाल्चोक), प्रकाशचन्द्र लोहनी (नुवाकोट) र रामकृष्ण आचार्य (रसुवा) निर्वाचित भएका थिए । दार्चुलाका अकबरबहादुर सिंह थापा पक्षबाट जित्ने एक्लो सांसद बने । सूर्यबहादुर थापा आफैं पनि धनकुटाबाट पराजित भए ।

चुनावमा नराम्ररी पराजित भएपछि चन्द र थापाले फेरि पार्टी एकता गर्ने बहस सुरु गरे । पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी र चुनाव चिन्ह हलो राख्ने निर्णय भयो । २०४८ माघमा एकीकृत पार्टी बन्यो । त्यसको अध्यक्ष सूर्यबहादुर थापा बने । २०५१ सालको मध्यावधि निर्वाचनपछि राप्रपालाई संसदीय राजनीतिमा केही शक्तिशाली बन्ने अवसर प्रदान भयो ।

देशभर १९ सिट जित्दै राप्रपा तेश्रो ठूलो पार्टी बन्यो । मध्यावधि चुनावमा कुनै पार्टीले बहुमत नल्याएपछि एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गर्यो। यो सरकार नौ महिना मात्रै चल्यो । अधिकारीलाई हटाएर कांग्रेस नेता शेरबहादुर देउवा सत्ताको नेतृत्वमा आए । उक्त खेलको एक खेलाडी राप्रपा थियो । त्यसको नेतृत्व गरेका थिए सुर्यबहादुर थापाले ।

थापाको प्रयासपछि देउवा प्रधानमन्त्री बने । देउवा प्रधानमन्त्री हुदाँ थापाले आफूखुसी मन्त्री सिफारिस गरेको भन्दै पार्टीभित्र लोकेन्द्रबहादुर चन्द विरोधी भएर निस्किए । केही महिनापछि देउवा सरकार ढाल्न एमाले नेताहरू सक्रिय भए । राप्रपाको त्यही असन्तुष्ट चन्द पक्षले एमालेलाई साथ दियो । लोकेन्द्रबहादुर चन्दले आफू प्रधानमन्त्री बन्न पाउने आश्वासन पाएसँगै एमालेलाई साथ दिए । २०५४ सालमा राप्रपा–एमालेको गठबन्धनबाट चन्द प्रधानमन्त्री बने ।

आफैंले नेतृत्व गरेको सरकार आफ्नै साथीका कारण ढलेपछि थापा र चन्दबीच सम्बन्ध बिग्रियो । चन्द र थापाको विवादले राप्रपाभित्र असन्तुष्टिको खाडल बढ्दै गयो । चन्दको कदमले अध्यक्ष थापा बदलाको भावना लिँदै अघि बढे । उनी आफ्नै साथी चन्द नेतृत्वको सरकार ढालेर कांग्रेसको सहयोगमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयमा पुगे । पार्टी गठन भएको एक वर्षभित्र आफ्नै पार्टी नेतृत्वको सरकार गिराउँदै राप्रपाले अर्को सरकार गठन ग¥यो । यो मतभेदले थापा प्रधानमन्त्री बनेपछि पार्टीले विभाजनको रूप लियो ।

सत्ताको जोडघटाउमा सुरू भएको राप्रपाभित्रको मनमुटावका कारण सूर्यबहादुर थापा प्रधानमन्त्री भएकै बेला पार्टी विभाजन भयो । एकता भएको ६ वर्षपछि पार्टीमा दोस्रो पटक विभाजन भएर एकतापूर्वकै अवस्थामा पुग्यो । २०५३ सालमा राप्रपा चन्द र राप्रपा थापाको रुपमा पार्टी विभाजन भयो ।

२०४८ सालमा जस्तै यो फुट उसका लागि फलदायी भएन । २०५६ को आम निर्वाचनमा दुवै राप्रपाको नराम्रो हार भयो । थापा पक्षले ११ सिट जितेर चित्त बुझायो भने राप्रपा (चन्द) ले एक सिट पनि जित्न सकेन । पहिलो निर्वाचनमा चन्द पक्ष बलियो र थापा पक्ष कमजोर भएको थियो । तर, ६ वर्षपछि त्यो उल्टो भयो ।

यो हारपछि पुनः एकीकरणको दबाव सिर्जना भयो । उनीहरू तयारीमा जुटे । पहिलो एकीकरणको नौ वर्षपछि र विभाजनको तीन वर्षपछि २०५७ सालमा पार्टी एकीकण भयो । दोस्रो पटक हारका कारण एक भएको यो पार्टीका नेताहरूले सच्चिने चेत देखाएनन् । एकीकरण भएको दुई वर्षमा उनीहरूभित्र फाटो आयो । यसको एकमात्र कारण तात्कालीन राजा ज्ञानेन्द्र शाहको आफैं सत्ता चलाउने चाहाना थियो ।

जब राजाको हैसियतमा ज्ञानेन्द्रले निर्वाचित सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५९ असोज १८ मा बर्खास्त गरे, यो घटनासँगै राप्रपामा पुनः फुटको बिजारोपण भयो । २०६१ माघ १९ मा राजाले सम्पूर्ण शक्ति आफ्नो हातमा लिए । त्योभन्दा अघि आफ्नै पार्टीका नेता प्रधानमन्त्री भएका बेला थापाकाविरुद्ध पशुपति शमशेर राणा सडकमा निस्किए । दुवै नेताहरूबीच तिक्तता बढ्यो । थापाको सरकार ढलेपछि उनको सरकारमा रहेका ६ जना मन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, हरिबहादुर बस्नेत, सर्वेन्द्र नाथ शुक्ल र रेणु यादव राप्रपामा फर्किएनन् ।

सूर्यबहादुर थापाको नेतृत्वमा बृहद राष्ट्रवादी शक्ति अभियान बन्यो । त्यो राष्ट्रिय जनशक्ति पार्टीमा रुपान्तरण भयो । राष्ट्रिय जनशक्ति पार्टी गठन हुने बेला भने थापाकै सरकारमा रहेका कमल थापा त्यहाँ बसेनन् । राप्रपामा फर्किएर महामन्त्री भए । राजाको ०६१ माघ १९ को कदमलाई हेर्ने दृष्टिकोणमा राप्रपामा मतभेद भयो । थापाले राजाको कदमको स्वागत गर्दै गृहमन्त्रीको रुपमा सरकारमा सहभागी भए । राप्रपाले फरक मत राखिरह्यो । २०६२ पुस २६ गते कमल थापाले नयाँ बानेश्वरमा राप्रपाको विशेष महाधिवेशन बोलाए । त्यहाँबाट राप्रपा नेपालको जन्म भयो ।

यसरी पार्टी स्थापनाको एक दशकमा पूर्वपञ्चहरू राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टी गरी तीन पार्टीका स्वरुपमा रहन गए । २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यी तीनै पार्टीले भाग लिए । यो निर्वाचनमा उनीहरू कमजोर बने । अध्यक्ष पशुपति शमशेर आफैं पराजित भए । उनी २५ वर्षपछि पहिलो पटक पराजित भएका थिए ।

संविधानसभा निर्वाचनमा हार व्यहोरेसँगै पूर्वपञ्चहरूले एकताको तेस्रो प्रयास सुरु गरे । ०७० साल जेठमा यी दुई पार्टीहरूबीच एकता भयो । राणा र सूर्यबहादुर थापा एकै ठाउँमा आइपुगे । नयाँ पार्टीको नाम राप्रपा नै राखियो । यद्यपि थापा जीवित रहुन्जेल नेतृत्वका लागि विवाद भने चलिरह्यो ।

२०७२ बैसाखमा थापाको निधन भयो । त्यसपछि लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले आलोपालो गरी पार्टी हाँक्ने सहमति गरे । यसबीचमा उनीहरूले कमल थापालाई ल्याउने प्रयास गरे तर उनी राजासहितको राजनीतिक व्यवस्थाको पक्षमा रहे भने राणाहरू अब गणतन्त्रबाट फर्किन नसक्नेमा पुगे ।

दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा र राप्रपा नेपाल दुई पार्टीले भाग लिए । उनीहरू हलो र गाई चिन्ह लिई चुनावी मैदानमा होमिएका थिए । निर्वाचनको परिणाम राप्रपाले प्रत्यक्षमा ३ सिट जित्यो भने राप्रपा नेपालले प्रत्यक्षमा कुनै पनि सिट जितेन ।

तर, कुनै सिट जित्न नसके पनि हिन्दू धर्म र संवैधानिक राजतन्त्रको मुद्दा बोकेको थापाको राप्रपा नेपालले समानुपातिकमा २४ सिट प्राप्त गर्न सफल भयो । राप्रपाले भने प्रत्यक्षमा तीन र समानुपातिकमा ९ सिट प्राप्त ग¥यो ।

यसरी विभाजन हुँदा आपसमा कमजोर भएको निष्कर्षसहित पुनः एकीकरण प्रक्रिया सुरु गरे । यी दुई पार्टीबीच २०७४ मंसिर ५ गते एकता भयो । कमल थापा पार्टी अध्यक्ष र राणा राष्ट्रिय अध्यक्ष बने । यो पार्टीको चौथो एकता थियो ।

तर, यो एकता पनि लामो समय टिक्न सकेन । सरकारमा सहभागिताको विषयमा कुरा नमिलेपछि पशुपति शमशेर राणाले पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) गठन गरे । यसबीचमा थापा सरकारमा पुगे र उपप्रधानमन्त्री हुँदै परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाले । संविधान जारी भएपछि संघीयता स्वरुपको निर्वाचनमा उनीहरूका बीचमा एकीकरणको प्रयास सुरु भयो । तर सफल हुन सकेन ।

उनीहरू एक्लाएक्लै निर्वाचनमा भाग लिए । त्यस्तै, प्रकाशचन्द्र लोहनीसमेत अलग पार्टी ‘राप्रपा राष्ट्रवादी’ गठन गरेर अलग्गिए । नेता लोकेन्द्रबहादुर चन्द भने राप्रपा नेपालमै रहे । सोही विभाजन अन्त्य गर्न फेरि थापा र राणाका बीचमा सहमति भयो ।

२०७३ सालमा राणा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा, नेपालबीच एकता भएको थियो । तर, एकताको आठ महिनामै उनीहरूबीच विभाजन आएको थियो ।

थापासँगको विभाजनपछि राणा र लोहनीले छुट्टाछुट्टै पार्टी खोलेका थिए । राणा, लोहनी र चन्द २०३९ साल देखिका सहयात्री हुन । २०३९ सालमा प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गरेर २०४० सालमा लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाई सत्ताको बागडोर हत्याएका यी पूर्वमहापञ्चहरूको एकतालाई नेपाली राजनीतिमा अर्थपूर्णरुपमा लिइएको छ ।(साँघु साप्ताहिक, माघ २१)

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्