साउदीमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली


 


दोहा, असाेज २२
साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन् । साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको आयोजना र नेपाली दूतावास रियादको सहकार्यमा आयोजित ‘श्रमिक समस्या समाधानमा दूतावास र नेपाली सामुदायिक संस्थाको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै श्रम सहचारी कार्कीले तीन नेपालीलाई अदालतबाट मृत्युदण्डको फैसला भएर दूतावासमा जानकारी आएको बताए ।

मृत्युदण्डको फैसला सुनाइएका नेपालीहरू कुन अपराधमा दोषी देखिएको र उनीहरूको नाम के के हो त्यो भने केही खुलाइएको छैन । गतवर्ष पनि दुई नेपालीलाई मृत्युदण्डको सजाय तोकेकोमा मृत्युदण्ड कार्यान्वयन भएको उनले बताए ।

उनका अनुसार हालसम्म थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ गरेर जेलमा राखिएका छन् । दूतावासले जेलभित्र करिब ३० नेपालीसँग अन्तक्रिया गर्दा अधिकांश नेपालीकै कारण नै नेपालीहरू जेल पर्ने गरेको पाइएको उनले बताए । राजधानी दैनिकबाट

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्