पहिलो महिनामै नेपाल घुम्न आउने पर्यटकको घुँईचो


 


काठमाडौँ, फागुन १

सन् २०१९ को जनवरी महीनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार हवाइमार्ग हुँदै ७७ हजार ३०० पर्यटक नेपाल आएका छन् भने १४ हजार ४९३ पर्यटक सडकमार्ग हुँदै नेपाल आएका हुन् ।

यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.५ प्रतिशतले बढी हो । यस अवधिमा पनि छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १४ हजार ६५० पर्यटक आएका छन् । चीनबाट १४ प्रतिशतले वृद्धि १३ हजार ४८८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

बोर्डका अनुसार गत वर्षको तुलनामा जनवरीमा थाइल्याण्ड, जापान र दक्षिण कोरियाबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या क्रमशः ६९.८ प्रतिशत, ३८ प्रतिशत र ८.४ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी बेलायत, जर्मनी र फ्रान्सलगायत युरोपेली मुलुकबाट ११ हजार ९९६ नेपाल भ्रमणमा आएका छन् । जनवरीमा बेलायतबाट चार हजार १३०, जर्मनीबाट एक हजार ५४९ र फ्रान्सबाट एक हजार ३७५ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्