भिजिट भिसाको जालो बुनेर यसरी लुट्छन् निलप्रसाद, सयौं युवाको बिचल्ली


 


काठमाडौं फागुन १
सिन्धुपाल्चोक स्थायी घर भएका तर अहिले दुवईमा रहेका निलप्रसाद लम्सालले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गरेको खुलेको छ। नेपालबाट युवालाई युएई, ओमान, कतारलगायतका देशमा राम्रो काम र कमाइको प्रलोभन देखाई ३ देखि ४ लाखसम्म नगद असुल गरी भिजिट भिसामा लगेर अलपत्र पार्ने गरेको खुलेको हो।

खाडीलगायतका मुलुकमा अझ युएईमा युवालाई युएईको २८ सय मासिक तलबसहित ओभर टाइमलगायतका सुविधा देखाएर सुरुमा नक्कली ओर्किङ भिसा बनाउने र त्यसपछि त्यो भिसाले काम नगरेको भन्ने बहानामा भिजिटिङ भिसाको सेटिङमा कामदार पुर्याएर अलपत्र पार्ने गरेका छन्। यसरी फसे निलप्रसाद लम्सालको भिजिट भिसाको जालोमा चितवनका दिलप्रसाद पन्त झण्डै ५ महिना अगाडि चितवन घर भएका दिलप्रसाद पन्त वैदेशिक रोजगारीमा जाने सिलसिलामा थिए। नेपालमा पनि संघर्षपूर्ण जीवन चलाउँदै आएका दिलप्रसादले आफ्नो र परिवारको अनिश्चित भविष्यको सुनिश्चित सपना सजाएर बिदेशिने सोच बनाए।

रोजगारीमा जाने क्रममा उनले सन्तोष कुमार सुनुवारमार्फत जाँदा राम्रो कम्पनीमा काम गर्न पाइने सुने। उनले सन्तोषकुमार सुनुवार भन्ने व्यक्तिलाई भेटे । सन्तोषकुमार सुनुवारले चिल्ला कुरा गरेर पन्तलाई दुवई जाउँजाउँ बनाएपछि पन्तले आफ्नो चितवनमा भएको घरजग्गा बैंकमा धितो राखेर विदेशिन तयार भए।

काठमाडौबाट सुनुवारले उनलाई भिसा लागिसकेको भन्दै खबर गरेपछि चितवनबाट पन्त काठमाडौं आए। सुनुवारलाई तीनलाख रुपैयाँ बुझाए। राम्रो काम र कमाईको सपनामा सजाएर आएका पन्तलाई तत्काल दुवई उड्न पाउने रहर जागेको थियो। निकै खुसी पनि भएका थिए उनी त्यो बेला। तर परिस्थिति सोचेकोभन्दा बिल्कुलै फरक भयो।

अझै केही दिन उनी दुवई उड्न नपाउने भए। यो भिसाले काम गरेन अब अर्को भिसा बनाउनुपर्ने भयो जसरी पनि हामी तपाईँलाई काम लगाउँछौं काम लगाउने पूरै जिम्मा हाम्रो भनेर सुनुवारले उनलाई ललाइफकाई गरे।

त्यसपछि केही दिनमै एअरपोर्टमा सेटिङ मिलाएर सन्तोष कुमारले पन्तलाई दुवई पठाए । सुनुवारले उनलाई दुवईको एअरपोर्टमा उनले काम गर्ने कम्पनीको गाडी लिन आउने र त्यसैमा जान भनेका थिए। उनी दुवई उडे। त्यहाँबाट उड्दै गर्दा पन्तलाई सुनुवारले म्यासेज गरे म्यासेजमा लेखिएको थियो, ‘एअरपोर्टमा कम्पनीको गाडी लिन नआएमा यो नम्बरमा फोन गर्नु’ ठीक तल थियो निलप्रसाद लम्सालको नम्बर।

दुवईको एअरपोर्टमा पुगेपछि पन्तले कम्पनीको गाडी लिन आउने आशमा एकछिन् पर्खिए। गाडीको कुनै अत्तोपत्तो नभएपछि उनले त्यो म्यासेजको नम्बरमा फोन गरे। उनलाई एअरपोर्टसम्म लिनका लागि आए सिन्धुपाल्चोकका निलप्रसाद लम्साल। लम्सालसँगै दुवईको एउटा कोठामा पुगेपछि निलप्रसादको ठगीको फन्दामा फसे दिलप्रसाद । त्यहीँबाट सुरु भयो लुट।

पन्तले डिसी नेपालसँग भने, ‘निलप्रसादले पुर्याएको कोठामा जब पुगेँ अलपत्र परिरहेका अन्य धेरै नेपाली युवालाई भेटेपछि पो बल्ल थाहा भयो आफूपनि ठगको फन्दामा परको त।’

निलप्रसादले उनी लगायत नाम नखुलेका अन्य युवालाई आज काम लगाउँछु, भोलि लगाउँछु भन्दै आश्वासन मात्रै दिए। काम पाउनका लागि ३ लाख रुपैयाँ बुझाउनु पर्ने भयो। पन्तले काठमाडौंमै सन्ताष कुमार सुनुवारलाई ३ लाख बुझाएकाले त्यही रकम लिन अनुरोध गरे। सन्तोस सुनुवारले निलप्रसादका नाममा २ लाख ९५ हजार पैसा पठाइदिए ।

पैसा पठाएपछि पनि काम भने निलप्रसादले काम दिलाउन सकेनन्। भोकभोकै कोठमा कैदी जसरी राख्न थाले । अझै पैसा थपे मात्रै काम मिल्ने भन्दै निलप्रसादले पन्तलाई थप रुपैयाँ माग गरे। निलप्रसादले दुई लाख फेरि थपे। किनकि उनी परदेशको भूमिमा पुगेर राम्रो काम र कमाइको मीठो सपना बोकेर परदेश पुगिसकेका थिए।

जसरी भएपनि काम पाए कमाई गरेर फर्किने सपना उनको थियो। बैंकंमा धितो राखेको घरजग्गा सम्झेर पनि काम गर्नुपर्ने त उनको बाध्यता नै थियो । तर उनले त्यसपछि पनि काम पाएनन्। निलप्रसादले उनलाई दुवईबाट ओमान अवैधानिक रुपमा पठाए। २३ दिन ओमानमा पन्त अलपत्र परे।

पन्त भन्छन्, ‘ओमानमा २३ दिन अलपत्र पर्दा के खाएँ कहाँ बसेँ कति दुख भोगेँ त्यो त मलाइ मात्रै थाहा छ। म बाठो हुँ भन्ने मान्छेलाई त मानव तस्करले यसरी ल्याएर फसाए। झन मभन्दा सोझा नेपाली दाजुभाइ तथा दिदीबहिनी पनि कति धेरै छन्, तिनीहरुलाई कति फसाउँदा हुन्।’ जसोतसो ओमानबाट फर्किएर पन्त दुवई आए। दुवईमा ठगी गर्ने निलप्रसाद त्यतै फरार छन। पन्त खाना न पानी भएर बस्न बाध्य भए।

उनले गुनासो गरे, ‘म युएईको खाडीमा ३२ घण्टासम्म खाना न पानी भएर पनि बाँचेको छु, मलाइ लाग्छ म न्यायका लागि बाँचेको हुँ नत्र त ३२ घण्टा पानी मुखमा पनि हाल्न नपाउँदा जोकोही बाँच्न सक्दैन। मेरो ६ लाख रुपैयाँ दुवईमै सक्कियो। अब आफ्नै पैसाले म नेपाल आउँदै छु। नेपाल आएर सरकारबाट न्यायको अपेक्षा गरेको छु।’

नेपाल आएपछि कानुनी प्रकृयामार्फत न्याय माग्ने र आफूजस्ता हजारौँको संख्यामा युवालाई अलपत्र पार्ने निलप्रसाद लम्साल लगायत ठगीको जालोमा सेटिङ मिलाउने सन्तोषकुमार सुनुवार जस्ता व्यक्तिलाई कानुनी कठघरामा उभ्याइनुपर्ने उनको भनाइ छ।

नेपालबाट भिजिट भिसाको सेटिङ मिलाएर दुवई उडाउने सन्तोषकुमार भने आफू जिम्मेवारीबाट पन्छिएर पैसा सबै उतै निलप्रसादलाई पठाइसकेकोले आफ्नो कुनै गल्ती नभएको बताउने गरेको पीडित पक्षको गुनासो छ।

ठगीको सेटिङमा संलग्न सन्तोषकुमार सुनुवार भने काठमाडौंमै छन्, पन्तका अनुसार नेपालमा आएर मेरो नाममा उजुरी गरिस् भने राम्रो हुँदैन नि भनेर फोनबाट धम्की दिने गरेका छन्। पन्त भन्छन्, ‘बरु मेरो गुमेको पैसा गुमाउन तयार छु। तर गरिब नेपाली युवालाई यसरी अलपत्र पार्ने दलाललाई कानुनी कारबाही जसरी पनि हुनैपर्छ।’

पन्तसँगै युएईमा ठेगाना नखुलेका बिक्रम चौधरी, सुदिप सापकोटा,रोशन चौधरी, बलेन्द्रचन्दलगायत नाम नखुलेका युवाहरु निकै ठूलो संख्यामा अलपत्र छन्। यी ठगिएका प्रत्येक कामदार वापत निलप्रसादले ३ लाख रकम ठगी गरेर अलपत्र पारेका छन्।

खान, बस्न र नेपाल फर्किने पैसा नहुँदा युवा अवैधानिक रुपमा बस्न बाध्य छन्। ठगीमा संलग्न लम्साल विगत सामाखुसीमा रहेको लिभरपुल इम्प्लोइमेन्ट सर्भिसेस प्रालिका संचालक समेत थिए। लिभरपुल इम्प्लोइमेन्ट म्यानपावरमार्फत धेरै श्रमिक ठगिएपछि वैदेशिक रोजगार विभागले उक्त म्यानपावर कम्पनी निश्क्रिय गरेको थियो।

(युएईमा ५ महिनादेखि अलपत्र परेका चितवनका दिलप्रसाद पन्तसँगको कुराकानीमा आधारित)
-श्रोत : डिसीनेपाल

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्