भोजपुरमा कृषकको लाखौँ रकम उठाएर भाग्यो कर्णाली एग्रिकल्चर


 


भोजपुर, फागुन १४

फलफूल तथा विरुवा दिने शर्तमा कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालले जिल्लाका २५ सय कृषकको लाखौ रकम उठाएर फरार भएको छ । कृषक तथा वनसँग कार्यक्रम गर्ने शाखा कार्यालयको रुपमा दर्ता भएको संस्थाले कृषकसँग ३ सयका दरले करिब ७ लाखभन्दा बढी रकम संकलन गरेर सम्पर्कविहीन भएको हो ।

एग्रिकल्चरले गएको भदौ ५ गतेबाट नियुक्ति दिएका कर्मचारीलाई तलब नदिएपछि कर्मचारीकोसमेत विचल्ली भएको छ । कर्मचारीहरुले गाउँ–गाउँ गएर विभिन्न जातका फलफूल तथा रुखका विरुवा दिने सर्तमा उक्त रकम संकलन गरेका थिए ।

रकम संकलन गरेर कार्यालयमा बुझाएपछि सञ्चालकहरु फरार भएको कर्मचारी उत्तराज खड्काले बताउनुभयो । संस्थाले भोजपुर नगरपालिका–७ सातधारामा कार्यालय स्थापना गरेको थियो । कार्यालय स्थापना गरेपछि कर्मचारी भर्ना खुलाएरसमेत रकम संकलन गरेको संस्था अहिले बन्द रहेको छ ।

संस्थाले अर्गानिक खेती, वन संरक्षणसम्बन्धी जन चेतनामुलक कार्यक्रम, वन विकाससम्बन्धी धारणा विकास, उन्नत जातका विउविजनहरु उत्पादन, वजार व्यवस्थापनसम्बन्धी सहजीकरण जस्ता विभिन्न कार्यक्रमसमेत गर्ने बताउँदै काममा पठाएको कर्मचारीहरुले बताएका छन् । उज्यालो अनलाईनबाट

प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्