कन्सलटेन्सीले ठगे ७ महिनामा ९ करोड ठगी


 


काठमाडौं फागुन १७
वैदेशिक रोजगारका लागि म्यानपावर व्यवसायीहरुले सरकारी स्वीकृति लिएर काम गर्ने गरे पनि वैदेशिक रोजगार व्यवसायको अनुमति नै नलिएका व्यक्ति र संस्थाहरुबाट हुने गरेको ठगी दिनानुदिन बढेर भएको छ । यस्तो ठगी कतिपय कन्सल्टेन्सी, ट्राभल्स एजेन्सी, गैर सरकारी संस्थादेखि होटल रेष्टुरेन्ट र लज व्यवसायीहरु संलग्न रहेको पाइन्छ ।

वैदेशिक रोजगारीका नाममा ठगीका घटना उजुरी वैदेशिक रोजगार विभागले हेर्ने गरेको छ । तर वैदेशिक रोजगारकै नाममा बिचौलियाबाट ठगिएका तर ठगिएको प्रमाण नभएका पीडितहरुको गुनासो विभागले हेर्दैन् । त्यसैले पीडितहरु प्रहरीको सहारामा पुग्ने गरेका छन् । अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी लिएर पीडितहरु जाने गरेका छन् ।

अपराध अनुसन्धान महाशाखामा मात्रै वैदेशिक रोजगारीका नाममा ठगिएका उजुरीहरु लिएर दैनिक जसो १० जना भन्दा बढी पीडित पुग्ने गरेका छन् । देशका विभिन्न स्थानबाट काठमाडौं आएका तर काम गर्न विदेश जाँदा ठगिन्छ भन्ने जानकारी नभएका युवा धेरै संख्यामा ठगिने गरेका छन् ।
बिचौलीयाको मीठो बोलीमा सजिलै विश्वास गर्दा धेरै युवाले ऋण गरेर ल्याएको पैसा गुमाएर पनि विदेश जान पाएका छैनन् भने कतिपय युवा विदेश पुगेर अलपत्र परेका छन् । अबैधानिक बाटो हुँदै तेस्रो विकशित मुलुक पु¥याउने, काम र कमाई राम्रो हुने प्रलोभनमा धेरै ठूलो रकम ठगी भइरहेको छ ।
युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायत विकशित मुलुकमा रोजगारीको प्रलोभन देखाएर प्रतिव्यक्ति ५० लाखसम्म दलालले ठगी गर्दै आएका छन् ।

वैदेशिक रोजगारीका नाममा विभिन्न प्रलोभन देखाएर बिचौलिया तथा कन्सलटेन्सीबाट ठगिएर महाशाखामा उजुरीका लागि आएका पीडितको चालु आर्थिक वर्षको ७ महिनामा ८ करोड, ६७ लाख, ९७ हजार रुपैयाँ ठगी भएको बिगो दावी गरिएको छ ।

७ महिनामा १५७ जना पीडितहरुले उजुरी दिएका छन् । जसमा २७ वटा उजुरीमा मुद्दा चलाइएको महाशाखाले जनाएको छ । मुद्दा चलाइएका २७ जनाबाट वैदेशिक रोजगारका नाममा बिचौलिया तथा कन्सलटेन्सीले १ करोड ६० लाखभन्दा बढी रकम ठगी गरेका छन् । पीडितले २ करोडभन्दा बढी रकम पाएका छन् ।

७ महिनाको अबधिमा ३३ वटा उजुरीहरु मिलापत्र भइसकेको अपराध अनुसन्धान महाशाखा टेकूले जनाएको छ । मिलापत्र भएका उजुरीहरु यसैवर्षका उजुरीहरु मात्रै नभएर धेरै समय अगाडि देखिका उजुरीहरु मिलापत्र गरिएको महाशाखाले जानकारी दिएको हो ।

ठगिएका ३३ जना पीडितलाई मिलापत्रमार्फत महाशाखाले २ करोड, ९ लाख, ७५ हजार रुपैयाँ बिगो भराएको छ । ठगी गर्ने व्यक्ति र पीडितहरुबीच कुराकानी गराई मिलापत्र गरी विगो भराएको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले बताएका छन् ।

विभिन्न मुलुकमा राम्रो काम र कमाईको प्रलोभन देखाएर ठगी गर्ने पीडितको संख्या बढ्दै गइरहेको महाशाखाका एसपी राठौरले बताए । एसपी राठौरले भने, ‘युवा वैदेशिक रोजगारका लागि नेपालबाट प्रतिबन्धित मुलुकमा समेत अवैधानिक रुपमा भारत हुँदै जानेक्रममा ठगिने समस्याहरु बढिरहेका छन् ।’ धेरै पढाइ नभएका तर पैसा भएका युवा ५० लाखसम्म खर्च गरेर अबैधानिक बाटो हुँदै युरोप अमेरिकालगायतका मुलुकमा जान तयार हुँदा ठगीमा पर्नेको संख्या बढ्दै गइरहेको छ । यसबाट दलालहरुले मानव तस्करी गर्ने क्रम दिनानुदिन बढिरहेको छ ।

सरकारले खाडीलगायतका विभिन्न मुलुकमा महिला कामदारलाई घरेलु कामदारका रुपमा जान रोक लगाएसँगै महिला पनि लुकीछिपी भारतहुँदै खाडी जाने क्रममा बेचबिखनमा पर्ने समस्या बढ्दै गइरहेको एसपी सिंहको भनाइ छ । वैदेशिक रोजगारीका नाममा एजेन्टले ठगी गर्ने नयाँ तरिका भिजिट भिसालाई बनाउन थालेको प्रहरीले जनाएको छ ।

दलालले श्रमिकलाई भिजिट भिसामा रोजगारीमा जाँदा रोजेर काम पाउने र कमाई पनि निकै राम्रो हुने, खाडीमा भिजिट भिसामा गएपछि त्यहीबाट युरोप लगायतका मुलुकमा पुगेर रोजगारी गर्न पाइने लगायत विभिन्न प्रलोभन देखाएर ठगी गरेका घटनाहरु एक दिनमा नै ४ देखि ५ वटासम्म आउने गरेको महाशाखाले जनाएको छ । वैदेशिक रोजगारीका नाममा नयाँ नयाँ तरिकाबाट ठगीको क्रम बढ्दै गइरहेकाले यस्ता ठगीमा नपर्न कसैको लहीलहीमा नलाग्न युवाहरुलाई प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्