विप्लव र प्रकाण्डबीच बोलचाल नै बन्द : विभाजनको संघारमा नेकपा


 


काठमाण्डौं । सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई मुख्य सुरक्षा चुनौतीका रुपमा लिएको छ । दुई तिहाईको कम्युनिष्ट सरकार गठन भएको एक बर्षे अवधिमा विप्लवका कार्यकर्ताहरूले दर्जन बढी बम विष्फोटलगायत हिंसाका घटनाहरू गराएर आतंक सिर्जना गरेका छन् । पछिल्लो एक महिना यता प्रहरीले विप्लवका सयौं कार्यकर्ताहरूलाई हातहतियारसहित पक्राउ गरिसकेको छ । शान्तिप्रक्रियाका लागि बार्तामा आउन सरकारले गरेको आव्हानलाई महत्व नदिएपछि सरकारले प्रशासनिक कारबाहीमार्फत तह लगाउने संकेत देखाएको छ ।

डा. सिके राउतसंग एघार बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित सभामा २०७५ फागुन २४ गते शुक्रबार बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवका नेता तथा कार्यकर्ताहरूलाई ‘लुटेरा’ भनेर आलोचना गरे । त्यसको भोलिपल्ट फागुन २५ गते प्रदेशस्तरीय सुरक्षा भेलालाई सम्बोधन गर्न कर्णालीको राजधानी सुर्खेत पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले विप्लवका नेता तथा कार्यकर्ताहरूलाई राजनीतिक व्यवहार नगर्न सुरक्षा निकायलाई निर्देशन दिए । प्रधानमन्त्री र गृहमन्त्रीका यी पछिल्ला अभिव्यक्तिले सरकार विप्लव नेतृत्वको नेकपासंग मुठभेडको मनस्थितिमा रहेको देखिन्छ ।

यता विप्लवको नेकपाविरुद्ध सरकार कडारुपमा प्रस्तुत हुँदैन भने उता पार्टीभित्र महासचिव नेत्र विक्रम चन्द‘विप्लव’ पार्टीका दोस्रो वरियताका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीचको विवाद चर्किदैछ । नेकपा माओवादीबाट फुटेर मोहन बैद्यको नेतृत्वमा २०६९ असार ५ गते गठन भएको नेकपा माओवादी क्रान्तिकारीमा संगै आएका विप्लव र प्रकाण्डले बैद्यलाई छाडेर २०७१ मंसिर ७ गते नेकपा माओवादी गठन गरेका थिए । प्रहरी हिरासतमुक्त भएदेखि प्रकाण्ड र विप्लवबीच बोलचाल नै बन्द भएको स्रोतले दाबी गरेको छ ।

२०७५ फागुन ११ गते ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा गराइएको बम बिस्फोटपछि प्रेस विज्ञप्ति निकाल्न पार्टी हेडक्वार्टरले दिएको निर्देशन प्रकाण्डले नमानेपछि महासचिव विप्लवले नै विज्ञप्ति निकालेको स्रोतको भनाई छ ।

एनसेल माथिको दोस्रो कारबाहीका पक्षमा प्रकाण्ड नरहेको उनी निकट एक नेताले साँघुलाई बताए । प्रकाण्ड, फ्र्याक्सन इन्चार्ज मोहन कार्की ‘जीवन्त’ र जनस्वास्थ्यकर्मी महासङ्घका अध्यक्ष टीका कँडेलले एनसेल माथि आक्रमण नगर्ने भनेर नियमितरुपमा ठूलो रकम चन्दा लिने गरेकोले यो समूह कारबाहीको विपक्षमा रहेको स्रोतले बतायो ।

पार्टीमा प्रवक्ताले नै विज्ञप्ति निकाल्ने प्रचलन रहँदै आएको थियो । प्रकाण्डले टेर्न छाडेपछि महासचिव विप्लवले पनि खासै भाउ नदिएको नेता तथा कार्यकर्तापंक्तिमा चर्चा छ ।

पछिल्ला केही महिना यता विप्लव र प्रकाण्डबीचको मतभेदले पार्टीमा गंभीर समस्या उत्पन्न गरिरहेको नेता तथा कार्यकर्ताहरू बताउछन । प्रकाण्डमाथि पार्टीभित्र गुट निर्माण गरेको आरोप पनि लाग्दै आएको छ ।

२०७५ साउन २२ गते ललितपुरको चाल्नाखेलबाट पक्राउ परेका प्रकाण्ड सर्वोच्च अदालतकोे आदेशपछि असोज ९ गते रिहा भएका थिए । विभिन्न उद्योगपति, व्यवसायीलगायतबाट अवैध रुपमा करीब ७ करोड चन्दा असुल गरेको आरोपमा प्रहरीले प्रकाण्डलाई पक्राउ गरेको थियो । पार्टी महासचिवले हाललाई राजधानी काठमाण्डांै नजान गरेको सुझाव नमान्दा प्रकाण्ड पक्राउ परेको पार्टी स्रोतको भनाई छ ।

हिरासतमुक्त भएदेखि नै प्रकाण्डको महासचिव विप्लवसंग सम्बन्ध बिग्रिएको स्रोतको दाबी छ । प्रकाण्डले विप्लवसंग सम्पर्क गर्न छाडेको पार्टी स्रोतले बताएको छ । पार्टी निकट स्रोतले भन्यो–‘यस्तै मतभेदको अवस्था बढ्दै जाने हो भने नेकपा छाडेर प्रकाण्ड गुट हिड्यो भने आश्चर्य नमान्दा हुन्छ ।’ कतिपय नेता तथा कार्यकर्ताहरूले पार्टीभित्रको किचलोले विप्लव नेकपा विभाजनको संघारमा रहेको विश्लेषण गरेका छन् ।

स्रोतका अनुसार, विप्लव र प्रकाण्डबीच कुनै बैचारिक, सैद्धान्तिक वा पार्टीका दस्तावेजका विषयले सम्बन्ध बिग्रिएको होइन । यी दुईबीचको सम्बन्ध बिग्रिनुको मुख्य कारण आर्थिक मामिला भएको एकजना केन्द्रीय नेताले बताए । पार्टीले प्रवक्ताका साथै प्रकाण्डलाई आर्थिक विभागको पनि जिम्मेवारी दिइएको छ । पार्टीमा नेता तथा कार्यकर्ताहरूको सम्पूर्ण आर्थिक व्यवस्थापनको जिम्मा प्रकाण्डलाई छ ।

प्रकाण्डले अपादर्शी ढंगले चन्दा उठाई स्वैच्छिकरुपमा खर्च गरेको, महासचिव र उनी निकट नेताहरूलाई खर्चको यथार्थ विवरण नदिएको, समानान्तर कमिटीहरू निमार्ण गरेर गुटको राजनीति गरेको भन्ने आरोप लाग्न थालेपछि प्रकाण्डको तीब्र विरोध हुँदै आएको विप्लव नेकपाका नेताहरूको भनाई छ ।

२०७५ मंसिर ८ मा काठमाण्डौको भृकुटी मण्डपमा आयोजना भएको जनसभालगत्तै पार्टीभित्र विवाद चर्किएको थियो । विशाल जनसभा भनिएको उक्त कार्यक्रममा देशभरका कार्यकर्ता तथा समर्थक ओरालिएको थियो । त्यो कार्यक्रम विप्लवलाई माइनस गर्न प्रकाण्डको चाहनामा गरिएको भन्ने विषयले चर्चा पाएको थियो ।

विप्लवसंग प्रकाण्ड २०७३ फागुन ५ देखि १० गतेसम्म रोल्पाको थवाङमा सम्पन्न आठौं महाधिवेशनदेखि सशंकित भएका हुन । तत्कालीन माओवादी जनयुद्धका एकजना चर्चित नेता हेमन्तप्रकाश ओली ‘सुर्दशन’ पार्टीमा भित्रिएपछि प्रकाण्डले विप्लवसंग निहुँ खोज्न थालेको स्रोतको भनाई छ । सुदर्शन प्रकाण्ड भन्दा सिनियर नेता हुन् । सुदर्शनले महाधिवेशनको बन्दसत्रमा दिएको बैचारिक र सैद्धान्तिक विषयको प्रस्तुतिले प्रकाण्डलाई झस्काएको थियो । त्यही दिनबाट उनले पार्टीमा आफू बलियो भइराख्न अनेकौं तिगडमहरू गर्दै आएको पार्टी निकट बुद्धिजीवीको बिश्लेषण छ ।

एकताप्रक्रियामा आउन चाहेका गोपाल किराती र लोकेन्द्र विष्टमगरलाई प्रकाण्डले नै अवरोध सिर्जना गरेको एकजना केन्द्रीय सदस्यको दाबी छ । महासचिव विप्लवपछिको जिम्मेवारीमा रहेका उनी किराती र विष्टमगर आएपछि महत्व घटने र आफू तल पर्ने भएकाले एकताको कुरा उठ्ने वित्तिकै भाँड्ने गरेको आरोप प्रकाण्डमाथि लाग्दै आएको छ ।

पार्टीभित्र नेता तथा कार्यकर्ताहरूले महासचिव विप्लव पार्टीको प्रमुख नेता भएको तर प्रकाण्ड पार्टीभित्रको गुटको मात्र नेता भएको अनुभूति गरिरहेको बताइन्छ । सबैजसो जनवर्गीय सङ्गठनहरू प्रकाण्ड गुटको शिकार हुँदै आएको गुनासो छ । गुटको प्रभावका कारण ती संगठनमा छुट्टा–छुट्टै कमिटीहरू बनेका छन ।

प्रकाण्डले सबैभन्दा ठूलो हस्तक्षेप पत्रकारहरूको सङ्गठनमा गरेको बताइन्छ । मूलधारको पत्रकारितामा रहेका पार्टी निकट पत्रकारहरूको ठूलो संख्यालाई पार्टी सदस्यताबाट निष्काशन गराएका प्रकाण्डले पार्टी निकट स्वास्थ्यकर्मीहरूको सङ्गठनमा पनि समानान्तर कमिटी बनाएका छन । त्यस्तै युवा र विद्यार्थीका सङ्गठनमा पनि समानान्तर कमिटी बनेका छन । विद्यार्थी सङ्गठनमा प्रकाण्डले छोरा नरेन्द्र बिश्वकर्मालाई कोषाध्यक्ष बनाएपछि त्यहाँ विवाद छ । विद्यार्थी नेताहरूको चर्को विरोधका वाबजुद प्रकाण्डले चिरञ्जी ढकाललाई अध्यक्ष बनाएका थिए ।

पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ प्रमोद योगीलाई अध्यक्षमा निर्वाचित गरेको घोषणा गरेको थियो । तर घोषणाको दुई घण्टा बित्न नपाउदै प्रकाण्ड गुटले बिबादस्पद जग्गा दलाल टीका कँडेलको अध्यक्षतामा अर्को समानान्तर कमिटी बनाएका थिए ।

त्यस्तै विप्लव समूहको युवा सङ्गठनमा झकबहादुर मल्ल ‘सुदीप’ तत्कालीन माओवादी केन्द्रमा फर्केपछि बाबुराम राईलाई संयोजक बनाएको थियो । तर, त्यसलाई प्रकाण्ड गुटले राईलाई स्वीकार गरेका छैनन् । युवा सङ्गठनको विवाद अझै टुङ्गिएको छैन । मजदूरहरूको सङ्गठनमा लफडा कायमै रहेको पार्टीका एक केन्द्रीय सदस्यको भनाई छ । (साँघु साप्ताहिक, फागुन २७)

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्