विप्लव समूहले भन्यो : प्रहरीले एकतर्फी गोली चलायो


 


काठमाण्डौ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले वर्तमान सरकार सामाजिक फासीवादतर्फ गैरहेको आरोप लगाएको छ । आफ्नो पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने नाममा देशमाथि नै सरकारले प्रतिबन्ध लगाउनु गलत भएको नेकपाका मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज सुदर्शनद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै आफ्ना पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ सहित दर्जनौँ कार्यकर्ता पक्राउ परेको पनि विज्ञप्तिमा जनाइएको छ ।

साथै मंगलबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको काफलडाँडामा संगठन सुदृढीकरणका क्रममा रहेका बेला आफ्ना कार्यकर्ताहरु विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको आरोप पनि नेकपाले लगाएको छ ।

सुदर्शनद्वारा सार्वजनिक विज्ञप्तिमा उनीहरुले प्रहरीमाथि गोली चलाएको भन्ने आरोप झुटो भएको पनि बताइएको छ । अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि गोली चलाउने पार्टीको नीति नरहेको पनि विज्ञप्तिमा उल्लेख छ । प्रहरीले एकतर्फी गोली चलाएर जवाफी कारबाही भनेर झुट फैलाएको पनि नेकपाले आरोप लगाएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्