डिमाण्ड, भिषा, टिकट र एग्रीमेन्ट नक्कली, म्यानपावर र ठगी सक्कली


 


काठमाडौं ललितपुरस्थित दृष्मा ओभसिज प्रा.लि.को नाममा करोडौं ठगी भएको समाचार सेलाउन नपाउँदै राजधानीको टाउन प्लानिङ सामाखुशीमा रहेको ग्रेस म्यानपावर प्रा.लि.को नाममा दुबई भिषाको नक्कली कागजात बनाएर करीव १५ लाखको ठगी भएको खुलेको छ ।

केन्द्रप्रसाद डाँगी र राजीव शाही नाममा रहेको उक्त म्यानपावर कम्पनी करीव दुईवर्ष अघि भरतप्रसाद श्रेष्ठका छोरा निर्मलप्रसाद श्रेष्ठ र गजेन्द्र भण्डारीले खरीद गरी पूर्व सञ्चालकहरुले विभागमा उपस्थित भई सनाखत गरिदिएका थिए । तर कामदार ठगीको विषयमा विभागको पत्र आएपछि पूर्व सञ्चालकहरु विभाग गई बुझ्दा सनाखत कागज तत्काल फेला नपरेको बताइएको छ ।

श्रेष्ठ र भण्डारीले सनाखत गरी म्यानपावर कम्पनी लिएपछि उनीहरुले दार्चुलाका रमेश विष्टलाई (पब्लीक रिलेसन अफिसर) पिआरओ बनाएको र उनले नक्कली भिषा, हवाई टिकट र नक्कली संझौतापत्र बनाई ५२ जना कामदारबाट २० हजार देखि १ लाखसम्म गरी १५ लाख रुपैयाँ उठाएको बताइएको छ । सञ्चालकहरुले म्यानपावर कम्पनीका नाममा पूर्व र अन्तिम श्रम स्वीकृति नलिएको बताएका छन् ।

विभागले श्रम इजाजत नम्बर १०६३÷०७३÷७४ रहेको उक्त म्यानपावरको सनाखत भएको कागज खोजी गरिरहेको बताइएको छ । भिषा, सम्झौतापत्र देखि हवाई टिकट नक्कली कागजातका आधारमा बनेको सार्वजनिक भएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ठगी गर्ने व्यवसायी वा एजेन्ट दुबैलाई कानूनी कारवाही गर्न माग गरेको छ । ग्रेस म्यानपावर प्रा.लि.को नाममा नक्कली हवाई टिकट र कागजात बनाई ५२ जना कामदारलाई ठगी गरेको विषय सार्वजनिक भएपछि संघले मंगलवार विज्ञप्तिमार्फत ठगी कार्यमा संलग्नहरुलाई कारवाहीको माग गरेको हो ।

संघले ईजाजतपत्र प्राप्त संस्थाका नाममा नक्कली कारोवार हुनु गम्भीर ध्यानाकर्षणको विषय भन्दै ठगीमा पब्लिक रिलेसन एजेन्टको संलग्नता भएको मौखिक जानकारी प्राप्त भएपनि त्यसका सञ्चालकहरु जिम्मेवारीको दायराबाट पन्छिन नसक्ने स्पष्ट गरेको छ । यसघटनाले सबै म्यानपावर कम्पनीका सञ्चालकहरु सचेत हुनुपर्ने बताएको छ । नेपाल बैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङले बैदेशिक रोजगार सम्वन्धी कानुनमा परिवर्तन भएको र नियामक निकायहरुको सक्रियता समेत बढेको भन्दै व्यवसायीहरुले कानून वा अन्य व्यवस्था थाहा नभएको जस्ता तर्क गरेर छुट नपाउने बताए ।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्