प्रधानमन्त्रीलाई शिक्षा अभियानमा नयाँ वर्षले दियो झनै उमंग, ‘छोरी’ बनिन् कक्षा प्रथम


 


मुगु, बैशाख १ आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यमिक विद्यालय माग्रीमा भर्ना गराएका थिए ।

मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँकी लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम स्थान हासिल गरेकी छन् । उनको पढाइ सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । उनका अनुसार घरमा लामालाई पढ्ने वातावरण छैन । परिवारमा कोही साक्षर छैनन् । विद्यालयबाहेकको समयमा उनी घरायसी कामकाजमा व्यस्त हुने गरेकी छन् । पानी भर्ने, गाईबस्तु चराउने, वनपाखामा च्याउ टिप्नेलगायत काम गर्छिन् ।

करिब तीन वर्षअघि बाबु कार्माटोन्डुल लामाको लडेर मृत्यु भएपछि आमा छिजुले उनी र बहिनीको पालनपोषण गरिरहेको ओलीले बताए । माग्रीगाउँका अधिकांश बालिका बीचमै पढाइ छाड्छन् । छिल्लेसाङ्मुले पनि पढाइलाई निरन्तरता नदिने हुन् कि भन्ने आंशका उनले व्यक्त गरे । ‘ठिल्लेसाङ्मुको पढाइप्रतिको रुचि देख्दा उनले उच्च शिक्षासम्म अध्ययन गर्छिन् भन्ने विश्वास छ,’ उनले भने, ‘तर गाउँमा कलिलै उमेरमा विवाह गर्ने चलन रहेकाले पढाइ निरन्तर गर्न नसक्ने हुन् कि !’

आफू साक्षर नभएकाले होमवर्क सिकाउन समस्या परेको आमा छिजुले बताइन् । माथिल्लो कक्षामा पढाउन नसकिने हो कि भन्ने उनको चिन्ता छ । ‘आधारभूत तहभन्दा माथिको पढाइ खर्च कसरी जुटाउने भन्ने चिन्ता छ,’ उनले भनिन्, ‘माथिल्लो कक्षामा सहयोग गर्ने कोही भेटिए त पढ्न पाउली ।’

उनले पर्याप्त जग्गाजमिन नहुँदा उत्पादन गरेको अन्नले वर्षभरि खानाको जोहो गर्न समस्या भएको बताइन् । घरमा जडीबुटी टिप्न जाने कोही नभएकाले समस्या परेको उनको गुनासो छ । ज्यालादारी काम गरेरै भए पनि छोरीलाई उच्च तहसम्म पढाउन आफू प्रयासरत रहने उनले बताइन् ।

बाजे ७७ वर्षीय कार्माछेवाङ तामाङले भने आफू जीवित हुँदासम्म नातिनीलाई पढाउने बताए । ‘म जीवित हुँदासम्म उसको पढाइ अगाडि बढाउन प्रयास गर्छु,’ उनले भने, ‘प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गरेर विद्यालयमा भर्ना गरेकाले पनि होला, उसले पढाइमा लगाव देखाएकी छ ।’ प्रधानमन्त्रीपत्नी राधिका शाक्यले भर्ना गरेकी छिरिङ छोन्जुङ लामाको अवस्था पनि उस्तै छ ।

उनलाई पनि सबैले प्रधानमन्त्रीकी छोरी भनेर चिन्ने गरेका छन् । १० वर्षीया लामा अहिले कक्षा २ उत्तीर्ण भएकी छन् । उनको घरमा पनि उत्पादनले वर्षभरि खान पुग्दैन । चार वर्षअघि उनका बुबा कार्मानाङग्याल लामाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका बेला हत्या भएको थियो । आमा टोमाले जसोतसो घरखर्च धानिरहेकी छन् । ‘पारिवारिक झमेलाका कारण उनको पढाइ नियमित छैन,’ उनले भनिन्, ‘दिन बिराएर स्कुल जानुपर्दा उनी पढाइमा कमजोर देखिएकी छन् ।’माग्रीगाउँका सोनाम तामाङले प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गरेका बालिकाको घरको अवस्था नाजुक रहेको बताए । ‘सरकारले पोसाक, कापी, कलम, खाजालगायत सबै खर्च ब्यहोरिदिए उनीहरूलाई पढाइमा हौसला मिल्थ्यो,’ उनले भने, घरको अवस्था कमजोर भएकाले दुवैले विद्यालयकै पढाइको भरमा परीक्षा दिएका थिए ।’

प्रधानमन्त्री दम्पतीले भर्ना गरेका माग्री गाउँका दुवै छात्रालाई पोसाक र अन्य शैक्षिक सामग्रीको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सूर्यबहादुर खत्रीले बताए । उनका अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भर्ना गरेका छात्रालाई पनि सरकारी सहयोग प्रदान गरिएको छ ।

गत वैशाख १ गते रारा आएका प्रधानमन्त्री, शिक्षामन्त्री, पर्यटनमन्त्री र कर्णाली प्रदेश मुख्यमन्त्री लगायतले जिल्लाका १७ बालबालिकालाई विद्यालय भर्ना गराएका थिए । ती बालबालिकाको पढाइमा निगरानी राखिएको खत्रीले जनाए ।

प्रकाशित मिति: १ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्