नयाँ कानूनले रोकिएला बहुविवाह ?


 


नेपाली समाजमा विवाहलाई स्त्री र पुरुषबीचमा पति र पत्नीको सम्बन्ध कायम गराउने धार्मिक एवं सामाजिक कार्यका रुपमा लिने गरिन्छ ।
विवाहलाई एक विवाह र बहुविवाह भनि छुट्टाछुट्टै रुपमा विभाजन गरिएको छ । एक विवाहलाई हाम्रो समाजमा साधारणतय मानेपनि बहुविवाहलाई भने मानिदैंन । एउटै पुरुषले एउटै जीवनकालमा दुई वा दुई भन्दा बढी महिलासँग वैवाहिक सम्बन्ध राख्ने परम्परालाई बहुविवाहका रुपमा रुपमा लिने गरिन्छ ।

नेपालको पुरानो मुलुकी ऐनले स्वास्नी अंगभंग भएमा, लाटी, गाँडी, कुँजी, बौलाएकी, दीर्घ रोग लागेकी, अरुसँग करणी गराएकी वा नगराएकी पनि गराएकी छु, तीन वर्षसम्म लोग्नेसँग जानकारी बिना भिन्न बसेमा, स्वास्नीले नै सम्बन्ध विच्छेद गर्नका लागि उजुरी दिएमा र यस्तै अन्य विशेष अवस्थामा मात्रै लाग्नेसँग सम्बन्ध विच्छेद गरी अर्को विवाह गर्न सक्ने कानूनी आधारहरु रहेको थियो ।

तर नेपालमा गएको भदौबाट लागू भएको नयाँ कानूनले बहुविवाहलाई बन्देज नै गरेको छ ।‘स्वास्नीलाई यौन सम्बन्धी सरुवा रोग भै निको नहुने भएमा, स्वास्नी निको नहुने गरी बहुलाएमा, स्वास्नीका कारणबाट सन्तान नभएको प्रमाणित भएमा, स्वास्नी हिँडडुल गर्न नसक्ने भएमा, स्वास्नी दुबै आँखा नदेख्ने भएमा,’ अर्की भित्र्याउन पाइने बहाना अब सकिएको छ ।

नेपालको मुलुकी ऐन २०२० को बिहेवारीको महलले बहुविवाहलाई पूर्ण रुपमा प्रतिवन्ध लगाएको थिएन् । नेपालको पछिल्लो कानूनले विवाह सम्बन्धि स्पष्ट व्यवस्था गरिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा १७५ मा बहुविवाह गर्न नहुने उल्लेख छ । सोही दफाको उपदफा १ मा विवाहति पुरुषले वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा अर्को विवाह गर्न हुँदैन भनेर उल्लेख छ । उपदफा २ मा कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन् ।

उपदफा ३ मा १ र २ मा जुनसुकै कुरा लेखिएको भए ता पनि पति पत्नी कानून बमोजिम अंशवण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ भनेर उल्लेख गरेको छ ।

उपदफा ४ मा १ वा २ बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ भनेर उल्लेछ ।

सोहि दफाको उपदफा ५ मा उपदफा १ बमोजिमको विवाह स्वतः बदर हुने उल्लेख छ । तर बहुविवाहका छिटफुट रुपमा बहुविवाहका घटनाहरु घटिएरहेका छन् ।

जुम्लाको तिला गाउँपालिका ३ स्यालालुम सेराका ३० वर्षीय मिथुन भट्टराई बहुविवाह गरेकै आरोपमा गएको फागुन ११ गते पक्राउ गरेका छन् ।
दिग्तेल नगरपालिका–४ खोटाङकी ३५ वर्षीया अमृता रायमाझीसँग विवाह गरेको आरोपमा फक्राउ गरेको हो ।

उनलाई बहुविवाहको आरोपमा प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको थियो ।

उनलाई जुम्ला लगिएको छ । पीडित २८ वर्षीया पुष्पा भट्टराईले पतिले बहुविवाह गरेको आरोपमा गत माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

यहि चैत महिनामै काभ्रेपलाञ्चोकमा एक दम्पतीलाई प्रहरीले बहुविवाहको आरोपमा पक्राउ गरेको छ ।

दाप्चा काशीखण्ड नगरपालिका–१४ बस्ने ३६ वर्षीय राजु श्रेष्ठले दोस्रो विवाहका रुपमा दोलखाकी जानुका कार्कीलाई विवाह गरेको उजुरी जेठी श्रीमती रमिला श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

दोस्रो विवाह गरेका श्रेष्ठ र कार्कीलाई बहुविवाह मुद्दामा जिलला अदालत काभ्रेपलाञ्चोकमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक नवीनराज राईले गराए ।

यित एउटा प्रतिनिधि घटना मात्र हुन् । तर बहुविवाहका घटना समाजमा घटिरहेका छन् ।

बहुविवाहकै कारण परिवारमा अशान्ति, आर्थिक बोझका साथै समाजिक इज्जत र प्रतिष्ठामा समेत नकारात्मक असर पनि देखा परेको छ ।
नेपाल प्रहरीले हालै प्रकाशन गरेको मासिक बुलेटिनमा फागुन महिनामा मात्रै बहुविवाहका ९४ वटा उजुरी परेको उल्लेख गरेको छ ।

यस्तै नेपाल प्रहरीको गत आर्थिक वर्षहरुका तथ्याङकले पनि समाजमा अझै बहुविवाह गर्ने प्रचलन कायमै रहेको देखाउँछ । प्रहरीको तथ्याङक अनुसार आर्थिक वर्ष २०७१÷७२ मा ५ सय १८ वटा बहुविवाहका उजुरी परेका थिए भने २०७२÷७३ मा ४ सय ६३ वटा, आर्थिक वर्ष २०७३÷७४ मा ४ सय ६४ वटा उजुरी परेका थिए । यस्तै आर्थिक वर्ष २०७४÷७५ मा ६ सय २ वटा उजुरी परेको प्रहरीको तथ्याङकमा उल्लेख छ ।

यस्तै चालु आवको साउनदेखि फागुनसम्म ६ सय ३१ वटा बहुविवाहका उजुरी आएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदी बताउँछन् । प्रहरीको ८ महिनाको तथ्याङक अनुसार प्रदेश १ मा सबैभन्दा बढी बहुविवाहका उजुरी अर्थात १ सय १७ वटा उजुरी परेका छन् ।

प्रदेश ५ मा १०४, प्रदेश ३ मा ८२, उपत्यमामा ८२, प्रदेश प्रदेश २ मा ७१, प्रदेश ६ मा ६९, प्रदेश ७ मा ४३ वटा, प्रदेश ४ मा ६३ वटा उजुरी परेका छन् ।
प्रवक्ता सुवेदी भन्छन्‘ ग्रामिण क्षेत्रमा अझै बहुविवाह कायमै छ । ग्रामिण क्षेत्रमा कानूनको बारेमा जानकारी कम हुँदा पनि यस्ता घटना घटेका छन् ।
अधिवक्ता शशी बस्नेत नयाँ कानून आएपनि यसलाई कार्यान्वयमा चुनौति त्यतिकै रहेको बताउँछिन् । बस्नेत भन्छिन्, ‘अहिले बहुबिवाहलाई कानूनले नै स्वत खारेज भनेको छ तर यो त्यतिकै चुनौति पनि छ ।’

नयाँ कानूनमा रहेको स्वतः विवाहसम्बन्धी व्यवस्थाले समस्या उत्पन्न गराउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘स्वतः विवाहको व्यवस्था गर्दा अप्रत्यक्ष रूपमा बहुविवाह हुन सक्छ । घरमा जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती राख्यो र उनीबाट बच्चा जन्मायो भने त्यो स्वतः विवाह मानिने भयो र केही कारबाही पनि नहुने भयो ।’

यसरी पुरुष प्रधान सामाजिक मूल्य मान्यता रहेको हाम्रो समाजमा नयाँ कानूनलाई व्यवहारमा कार्यान्वयन गर्न ठूलो चुनौती रहेको कतिपयको बुझाइ छ ।

कतिपयले चाहिँ धेरैलाई न्याय दिए पनि नयाँ कानुनले यदी एक जनालाई मात्रै पनि अन्यायमा पार्छ भने त्यसबारे सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउँछन् ।

नयाँ कानूनमा विवाह सम्बन्धी प्रावधान राम्रै भए पनि महिलाले अब विवाह गर्नुअघि निकै सोचविचार गर्नुपर्ने अवस्था रहेको देखिन्छ ।
नयाँ संहिता लागू भएपछि पनि बहुविवाहको समस्या लिएर थुप्रै महिला कानुनी उपचारको खोजीमा महिला आयोग समक्ष पुग्ने गरेका छन् ।

प्रकाशित मिति: १ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्