खुल्यो समुद्रको अर्को ढोका, सीको नेपाल भ्रमण छिट्टै, अब भारतले हेप्ने दिन गए


 


काठमाडौं बैशाख १७
चिनियाँ राष्ट्रपति सी चिनिफिङले राजनीतिक स्थायित्व र आपसी सहकार्यबाट नेपालको समृद्धि यात्रा सफल हुने बताएका छन् । नेपालको राजनीति, स्थायित्व र विकासक्रमलाई नजिकबाट नियालिरहेको स्पष्ट पार्दै उनले समृद्धि यात्रामा सघाउन चीन सधैं तत्पर रहेको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार बेइजिङस्थित चिनियाँ बृहत् जनसभा भवनमा भएको औपचारिक भेटवार्तामा सीले यस्तो धारणा व्यक्त गरेका हुन्।

राष्ट्रपति सीले चीन र नेपालबीच युगौंदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । उनले भने, ‘दुई देशका जनताको मन मिलेको छ र सहकार्य हुँदै आएको छ ।’ सीले नेपाल–चीन सम्बन्ध राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भूभागको अविच्छिन्नताको संरक्षण गर्न अनुकूल रहेको बताए । बीआरआई परियोजनामा नेपालको चासो समेटिएकाले अब सहकार्य अघि बढ्ने विश्वास उनको थियो ।

दुई देशले पूर्वाधार क्षेत्रमा सहयोग बढाएर नेपाल–चीन सीमापार आर्थिक सहयोग बढाउने उनले बताए । नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनको समर्थन रहिरहने पनि उनले स्पष्ट पारे । राष्ट्रपति सीले भने, ‘हामीबीच दल, युवा, थिंक ट्यांक, सञ्चारमाध्यम आदि क्षेत्रमा अनुभव आदानप्रदान हुनुपर्छ ।’

भोटवार्तामा राष्ट्रपति भण्डारीबाट बीआरआईको सफलताप्रति सीलाई धन्यवाद व्यक्त भएको थियो । ‘चीनको समृद्धि र स्थिरता नेपालका लागि मौका हो । हामी एक चीन नीतिमा अडिग रहेर सहकार्य अघि बढाउनेछौं,’ राष्ट्रपतिको भनाइ थियो ।

राजसंस्था औपचारिक अन्त्य गरेको दशकपछि उत्तरी छिमेकी चीनले नेपालका राष्ट्र प्रमुखलाई बेइजिङको बृहत् जनसभा भवनमा पहिलोपटक स्वागत गरेको हो । दुई राष्ट्रपतिको उपस्थितिमा सोमबार पारवहन तथा यातायातको प्रोटोकलमा हस्ताक्षर भएको छ । प्रोटोकलमा हस्ताक्षरसँगै नेपालको समुद्रसम्मको अर्को ढोका खुलेको छ ।

राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुअघि त्यहाँ नेपाली राष्ट्रिय धुन घन्किएको थियो । यस्तै, राष्ट्रपति भण्डारीलाई २१ तोपको सलामी (गार्ड अफ अनर) अर्पण गरिएको थियो । नेपाली राष्ट्रपतिको पहिलो राजकीय भ्रमण भएकाले चीनले विशेष महŒव दिएको हो ।

नेपाल भ्रमण छिट्टै : सी

चिनियाँ राष्ट्रपति सीले आफू छिट्टै नेपाल आउने बताएका छन् । उनले दुई देशको कूटनीतिक क्षेत्रलाई भ्रमणको चाँजोपाँजो मिलाउन निर्देशन दिएको भेटमा सहभागी नेकपा नेता योगेश भट्टराईले जानकारी दिए । सन् २०१३ मा सत्तारोहण गरेदेखि नै चिनियाँ राष्ट्रपति सीलाई नेपाल पक्षबाट भ्रमणको आग्रह हुँदै आएको छ । त्यही निरन्तरतास्वरूप राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्राध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएकी हुन् ।

सीले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको बताए । यसअघि बारम्बार नेपाल आउने हल्ला चले पनि ‘उपयुक्त तथा अनुकूल समय र निकट भविष्य’ भन्दै कूटनीतिक जवाफ दिने राष्ट्रपति सी अहिले नेपाल आउन आतुर देखिएको कूटनीतिक स्रोतको दाबी छ । स्रोतका अनुसार राष्ट्रपति सीको नेपाल भ्रमण कात्तिकभित्र हुनेछ ।

नेता भट्टराईले पनि सीको छिट्टै नेपाल आउने बताए । सीले दक्षिण एसियाका अधिकांश देश भ्रमण गरे पनि नेपाल टेकेका छैनन् । सन् १९९६ डिसेम्बरमा चीनका तत्कालीन राष्ट्राध्यक्ष च्याङ चमिनले दुईदिने नेपाल भ्रमण गरेयता कुनै पनि चिनियाँ राष्ट्राध्यक्ष आएका छैनन् ।

राष्ट्रपति भण्डारीलाई बेइजिङको थियानमेन चोकस्थित सहिद स्मारकमा सम्मान अर्पण गरिएको थियो । त्यसपछि राष्ट्रपतिबाट अरनिकोद्वारा निर्मित श्वेत चैत्य अवलोकन भयो । राष्ट्रपति भण्डारीको सम्मानमा चिनियाँ कम्युनिस्ट पार्टीको शक्तिशाली निकाय पाँच सदस्यीय स्थायी समितिका सदस्य तथा अनुशासन आयोगका प्रमुख चाओ लेचीले दिवाभोज दिएका थिए । त्यहाँ पनि राष्ट्रपति तहमा छलफल भएको थियो । सबैजसो छलफलमा नेपाल भ्रमण र आपसी सहकार्यमै जोड दिइएको थियो । बेइजिङबाट राष्ट्रपति भण्डारी मंगलबार बिहान ल्हासातर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

सात सम्झौता÷समझदारीपत्रमा हस्ताक्षर

नेपाल–चीनबीच बहुप्रतीक्षित पारवहन प्रोटोकललगायत सात सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षरपछि भारतसँग मात्रै भर पर्दै आएको नेपालका लागि समुद्रसम्म पहुँचको अर्को विकल्प खुला भएको छ । पारवहनसम्बन्धी प्रोटोकलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका यातायातमन्त्री ली स्याओफङले हस्ताक्षर गरेका थिए । यस्तै, नेपालको परियोजना तथा पुनर्निर्माणमा थप सहयोगसम्बन्धी सम्झौतामा वाणिज्यमन्त्री चोङ सानले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एक अर्ब चिनियाँ युआन (साढे १६ अर्ब रुपैयाँ) सहयोग प्रदान गर्ने भएको छ । अन्य समझदारी र सम्झौतामा सचिव र राजदूत स्तरको थियो । सीमा जोडिएका नेपालका जिल्लामा चीनले गर्र्दै आएको सहयोग सशक्त बनाउन, भन्सार व्यवस्थापन गर्न, नेपाल नापतौल तथा गुणस्तर विभागसँग सहकार्य गर्न, सांस्कृतिक सम्पदाको अवैध आयात–निर्यात, चोरी, तस्करी रोक्न सहकार्य गरिने सम्झौता भएको छ ।

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्