कालीगण्डकी नदी नै ब्यक्तिका नाममा


 


पर्वत । भूमाफियाले बालुवाटार देखि धेरै सरकारी जमिन ब्यक्तिका नाममा बनाएका घटनाहरु सार्वजनिक भैरहेका छन । सरकारी जमिन मात्रै होइन कालीगण्डकी नदी नै ब्यक्तिका नाममा दर्ता भएको पाइएको छ ।

पर्वत र बाग्लुङ्गको सिमाना भएर बग्ने पबित्र कालीगण्डकी नदीमा पर्ने पर्वतको खनियाघाट देखि नयाँपुल सम्मको चार किलोमिटर भन्दा लामो क्षेत्रफलमा नदी नक्सामै देखिदैन ।

कालीगण्डकी नदी अतिक्रमण भएको, ब्यक्तिले आफ्ना नाममा दर्ता गरेको चर्चापछि २०७२ सालमा पर्वत र बागलुङ्गको संयुक्त टोली गठन भएको थियो । समितिले पर्वत खण्डमा पर्ने कालीगण्डकीको धेरैजसो भाग व्यक्तिका नाममा पहिल्यै दर्ता भएको प्रतिबेदन दिएको हो । कुस्मा नगरपालिका १ मा पर्ने सहस्रधारादेखि कुस्मा ४ मा पर्ने अर्मादीसम्मको करिव दुई किलोमिटर दुरीमा नदीको भाग नै छैन ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा रहेको उक्त अध्ययन प्रतिबेदनका अनुसार कालीगण्डकी नदीको पर्वत खण्डमा पर्ने कतिपय क्षेत्रफल २०३८ सालमै व्यक्ति र बिभिन्न गुठीका नाममा दर्ता भएको पाइएको छ । पर्वत खण्डमा पर्ने तत्कालिन पाङ गाविस–१, २, ३ र ४ तथा तत्कालिन खुर्कोट गाविस–१ र २ मा पर्ने २४ कित्ताको करिव १६० रोपनी जमिन व्यक्तिका नाममा देखिएको छ । अध्ययन प्रतिबेदन अनुसार सो जग्गा कालीगण्डकी नदीकिनारमा आवादी जग्गा भएका जग्गाधनीहरुले २०३८ चैतअघि नै आ–आफ्ना नाममा दर्ता गरेको देखिएको छ ।

कतिपय जमिन गुठीका नाममा समेत दर्ता गरेको पाइएको छ । प्रतिबेदनका अनुसार १२ आना जग्गा लक्ष्मीनारायण गुठीका नाममा दर्ता छ । त्यसमध्ये करिव १९० रोपनी क्षेत्रफल नेपाल सरकारकै नाममा मालपोत कार्यालयमा दर्ता छ । २०३८ सालमा भएको नापीमा कालीगण्डकीको सतहको चँैडाई नदीको मध्यभागबाट ३० मिटर कायम गरिएको थियो । उक्त अध्ययन अनुसार कालीगण्डकीको चौडाई ६० मिटर हुनुपर्छ । तर, पछिल्लो समय नदीकिनारमा आवादी जग्गा हुनेहरुले मिच्दै मुख्य सतहसम्मै पुगेर नदीजन्य पदार्थ निकासी गर्ने, ठेक्कामा लगाउने र नदीको सतहसम्म नै अतिक्रमण गर्नेगरेको समेत पाइएको छ ।

नदी अतिक्रमणको अध्ययन र छानविनका लागि जिल्ला मालपोत कार्यालय पर्वतका तत्कालिन कार्यालय प्रमुख सुरण पौडेलको समितिमा पर्वत, बागलुङ्गका नापी, प्रहरी लगायतका निकायका प्रमुख रहेको समिति बनाइएको थियो ।

समितिले अन्तरिम प्रतिबेदन जिल्ला प्रशासनमा बुझाएपनि त्यसपछि थप अध्ययन अघि बढेको थिएन । फाइनल प्रतिबेदन बनाउने काम नै नभएको र नबनाउन बिभिन्न क्षेत्रबाट दबाब आएकाले स्थगित भएको समितिका एक सदस्यले जानकारी दिनुभएको छ । ‘हामीले अन्तरिम प्रतिबेदन जिल्ला प्रशासनमा दिएपछि फाइनल प्रतिबेदन बनाउन चाँसो नदिने र दबाब बढी भएपछि त्यसै छाडेका थियौं।’ नाम नबताउने सर्तमा उहाँले भन्नुभयो ।

प्रतिबेदन पर्वत प्रशासनमा भएपनि पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले अध्ययन प्रतिबेदनका आधारमा थप छानबिन अगाडी बढाउने तयारी भएको बताउनुभयो । ‘नदी सतहसमेत व्यक्तिका नाममा छ भन्ने सुनिएपछि प्रतिबेदन अध्ययन गर्दैछौ ’ प्रजिअ ढकालले भन्नुभयो ‘थप अध्ययनपछि नदी पनि ब्यक्तिका नाममा दर्ता भएको अबस्थामा फिर्ता गर्न आवश्यक पहल गर्छौ।

कालीगण्डकी नदी शालिग्राम पाइने बिश्वकै एक मात्र नदी हो । यो नदीमा स्नान गरे मात्रै पुण्य मिल्ने बिश्वास रहिआएको छ । मुस्ताङ्गको बिशाल मरुभूमि भएर बग्ने भएकाले यो नदीले धेरै बालुवा र ढुंगा गिटी बगाएर ल्याउने गरेको छ । नदी किनारमा जग्गा हुने र सार्वजनिक जग्गामा समेत नदीजन्य पर्दाथ उत्खनन र बिक्री गर्न ठुलै चलखेल हुने गरेको छ । राम्रो आम्दानी हुने भएकाले नदी किनारको जमिन ब्यक्तिले दर्ता गरेको देखिएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्