प्रचण्डले भने : मेरो घरबेटी भएपनि ठेकेदार शारदा अधिकारीलाई कारबाही होस्


 


नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठेकेदारलाई कारबाही गर्ने काम सरकारले गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेकपाकै सांसद हितबहादुर तामाङको प्रश्नको जवाफ दिँदै ठेकेदारलाई कारबाही गर्ने काम सरकारको भएको बताए । शनिबार प्रचण्डका पूर्व सम्धी स्वर्गीय पोष्टबहादुर बोगटीको स्मृतिमा आयोजना गरिएको कृषि प्रदर्शनीको उद्घाटन गर्दै प्रचण्डले सरकारले ठेकेदारलाई ठीक ठाउँमा राख्नसक्नुपर्ने बताए ।

नुवाकोटको ककनी गाउँपालिकाको सदरमुकाम रानीपौवामा भएको कार्यक्रममा सोही क्षेत्रका सांसद तामाङले काठमाडौँ त्रिशुली सडकको विषय उठान गर्दै काम नगरेको भन्दै ठेकेदारमाथि आक्रोश पोख्नेक्रममा ठेकेदार प्रचण्डको घरपेटी भन्ने सुेनेको भन्दै ध्यानाकर्षण गराएका थिए । त्यसपछि रानीपौवासम्म पुग्दा सडकको दुरावस्था आफैँले समेत महशुष गरेका नेकपा अध्यक्ष प्रचण्डले जुनुसुकै ठेकेदार भए पनि कारबाही गर्न सरकारलाई अनुरोध गरे ।

कार्यक्रममा प्रचण्डले भने ‘म जुन घरमा बसेको छु, त्यो घरबेटीसँग सम्बन्धित छ भनेर हितबहादुर तामाङले बढी नै जोड गरेर भन्न खोज्नुभएको जस्तो लाग्यो । त्यति जोड गर्नुपर्ने विषय महसुस हुँदैन,’ उनले भने, ‘मैले सम्बन्धित ठेकदार कम्पनीको कहाँकहाँ ठेक्का छ भनेर थाहा पाएर घरमा बस्न गएको होइन । म गएपछि ठेक्का पाएको पनि होइन । मसँग कुनै सरोकारको विषय होइन ।’ प्रचण्डले ठेकदारहरुले मोबिलाइजेसन लिएर जग्गामा लगानी गर्ने र लाखौं कमाउने गरेको समेत बताए ।

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्