भिम रावलले भने : बालुवाटारको जग्गा फिर्ता ल्याएर मात्रै हुँदैन, कारबाही गर्नुपर्छ


 


काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले बालुवाटार लगायत देशभरका सार्वजनिक जग्गा हिनामिना भएको विषयमा निष्पक्ष छानविन गर्न माग गरेका छन् ।

आफ्नै पार्टीका महासचिव विष्णु पौडेलसमेत मुछिएको बालुवाटारस्थित ललिता निवासको जग्गाको पनि सत्य तथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न रावलले माग गरेका छन् ।

सोमबार रिपोर्टर्स क्बल नेपालमा आयोजित कार्यक्रममा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा गृहमन्त्री भएका नेता रावलले त्यसबेला बालुवाटारको जग्गाबारे कुनै पनि औपचारिक प्रस्ताव र छलफल नभएको पनि स्पष्ट पारे ।

त्यो सरकारले फिर्ता ल्याउने निर्णय गरेकोमा धन्यवाद दिँदै रावलले फिर्ता ल्याएर मात्रै नहुने, दोषीलाई कानुनी दायरमा नै ल्याउनुपर्ने बताए ।‘बालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको नाममा जानु आपत्तिजनक छ । सत्य–तथ्य पहिचान गरेर दोषीलाई कारबाही गर्नुपर्छ । अब सरकारको छानविनको निष्कर्ष पर्खौँ’, नेता रावलले भने ।

फरक प्रसंगमा नेता रावलले पार्टी विधानअनुसार चल्न नसकेको गुनासो पनि गरे । स्थायी कमिटीको बैठक हरेक ३–३ महिनामा बस्नुपर्ने भएपनि त्यसो नगरिएको रावलले बताए । बैठक नबस्दा सरकारले गरेका कामको समीक्षा पनि हुन नसकेको उनको भनाई छ । सरकारले गरेका काम जनअपेक्षाअनुसार नभइरहेको बेला पार्टीभित्रको बहस र समीक्षा अत्यन्त जरुरी रहेको रावलले बताए ।

 

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्